Like us!
Follow us!
Connect us!
Watch us!

असार तेस्रो सातादेखि आन्तरिक उडान खुला गरिने

पत्रपत्रिका

शुक्रबार, ०४ असार २०७८, ०७ : ०७ मा प्रकाशित

असार तेस्रो सातादेखि आन्तरिक उडान खुला गरिने

निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर वृद्धि भएसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि लागू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ । मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडानहरू खुला गरिने सम्भावना रहेको पुष्टि गरेका हुन् । पछिल्ला केही दिनमा कोभिड संक्रमण दर घट्दो अवस्थामा रहेको भए पनि अझै केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो । सोही दिन आन्तरिक उडान सुचारु गर्ने संकेत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।

संघका प्रवक्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । संघले सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको र अहिले संक्रमण दर पनि घट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सकारात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापदण्डहरू पालना गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्कोतर्पm संक्रमण दर पनि घट्दो अवस्थामा छ ।’

आन्तरिक उडान खुला गर्ने हो भने हब मानिने गन्तव्यहरू नेपालगञ्ज, विराटनगर, वीरगञ्ज, भैरहवाजस्ता क्षेत्रमा कोरोना भाइरस संक्रमण दर र वस्तुस्थितिको विश्लेषण तथा मूल्यांकन पनि गरिने बताउँछन् उनी । 

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको