Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशी राष्ट्रिय प्रशारणमा जोडिँदै, सेयर मूल्य सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

आइतबार, १३ असार २०७८, १२ : ११ मा प्रकाशित

अप्पर तामाकोशी राष्ट्रिय प्रशारणमा जोडिँदै, सेयर मूल्य सकारात्मक सर्किट लेभलमा

राष्ट्रिय गौरवको अपर तामाकोशीबाट उत्पादित बिजुलीलाई आज (आइतबार) बाट राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम सुरु हुने भएको समाचार बाहिरियपछि कम्पनीको सेयर मूल्यमा पनि ब्यापक बृद्धि भएको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहिबार पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । आज यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बृद्धि भएर ८१९ रुपैयाँ कायम भएको छ । आज कारोबारको प्रारम्भमै कम्पनीको सेयर मूल्यमा बृद्धि भएको हो । 

अहिले सम्म कम्पनीको ५ लाख भन्दा कित्ता सेयरको खरिद माग हुँदा सप्लाई भने सून्य देखिन्छ ।   

नेपाल विद्युत प्राधिकरणका अनुसार आज असार १३ गतेदेखि १९ गतेसम्म आयोजना परीक्षण गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिन लागेको हो ।  प्राधिकरणले एक सूचना प्रकाशन गर्दै सो अवधिमा खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ । 

४५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरि प्रसारण लाइनमा जोडिन लागेको हो ।
 
प्राधिकरणले सो समयमा प्रणालीमा विद्युत नपुग्ने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने जनाएको छ ।

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।

असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ ।

यस्तै हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको छ । सो युनिटको समेत काम सम्पन्न गर्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोड्न लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको हो । प्रसारण लाइन व्यवस्थापनको काम अगाडि बढाइएको डा न्यौपानेले जानकारी दिएका छन् ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको छ । “तामाकोशी करिडोरबाट आएको प्रसारण लाइनको बिजुली न्यू खिम्ती सबस्टशेनमा जोडिने भएको छ, सोही सबस्टेशनबाट बिजुली प्रणालीमा उपलब्ध हुनेछ”, डा न्यौपानेले भने । यसअघि बिजुली ढल्केबर सबस्टेशनमा जोड्ने तयारी थियो ।

नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले आज एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती हुुन सक्ने सूचनामा उल्लेख छ ।

प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने र औद्योगिक ग्राहकलाई पर्ने समस्या तथा असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ ।

माथिल्लो तामाकोशीको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम भइरहेको छ । आयोजनामा कूल छ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो ।

आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत आयोजनाले पैदा गरेको छ । शुरूवाती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको