Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मत कार्य तीव्र, पुस १० भित्र उत्पादन सुरु हुने लक्ष्य

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ०७ : १२ मा प्रकाशित

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मत कार्य तीव्र, पुस १० भित्र उत्पादन सुरु हुने लक्ष्य

माथिल्लो तामाकोशी जलविद्युत आयोजना, देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको परियोजनाले पुस १० गतेभित्र विद्युत् उत्पादन पुनः सुरु गर्ने लक्ष्यसहित मर्मत कार्यलाई तीव्र बनाएको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाले दोलखाको बिगु गाउँपालिकामा रहेको आयोजनाको बाँध क्षेत्रका संरचनामा गम्भीर क्षति पुगेपछि विद्युत् उत्पादन रोकिएको थियो।

पहिरोका कारण लामाबगरस्थित बाँध क्षेत्रभन्दा तल रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम), बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर), र बाँधबाट पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुगेको थियो। यी संरचनाहरूको मर्मतकार्य भइरहेको छ।

दुई डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको पर्खाल मर्मत गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने योजना छ। मर्मतका लागि पुरानो ढलान हटाइ ग्राउटिङसहित पुनर्निर्माण भइरहेको छ। साथै, भूमिगत नहरका भित्ता र सिलिङका चिराहरू समेत मर्मत गरिंदैछ।

दायाँतर्फको डिस्याण्डर मर्मत तथा सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउने काम आगामी वर्षायाम अघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विद्युत् प्रवाहका लागि प्रयोग हुने प्रसारण लाइनको टावरको मर्मत पूरा भइसकेको छ। तर, हिउँदयाममा विद्युत् उत्पादन पुनः सुरु गर्न नसकिएमा आन्तरिक आपूर्ति व्यवस्थापनमा चुनौती आउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष घिसिङसहितको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेको छ। टोलीले व्यवस्थापन, परामर्शदाता, र निर्माण व्यवसायीसँग छलफल गरी मर्मत कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न योजना बनाएको छ।

कम्पनीका सिइओ मोहन प्रसाद गौतमले आयोजनाको मर्मत कार्यलाई उच्च प्राथमिकता दिइ समयमै उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मर्मत सम्भारका लागि सबै सम्भावित उपाय अपनाइएको र काम निर्धारित तालिका अनुसार अघि बढिरहेको जानकारी दिए।

असोज ११ गते साँझ तामाकोशी नदीको पानीको बहाव उच्च भएपछि आयोजनाले बाँधका सबै ढोका खोलेर सम्भावित ठूलो क्षति टारेको थियो। तर, वर्षाका कारण आयोजनाका विभिन्न संरचनामा क्षति पुगेको थियो।

पुस १० भित्र उत्पादन पुनः सुरु गर्न आयोजनाले उच्च गतिमा काम गरिरहेको छ। समयमै मर्मत पूरा भएमा पिक समयमा उत्पादन बढाई आन्तरिक मागलाई पूर्ति गर्न सकिने विश्वास लिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको