Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक संकेतः बजार सम्हालिँदा लगानीकर्ताहरु उत्साहित

मिलन खड्का

बुधबार, १६ असार २०७८, १९ : ३७ मा प्रकाशित

सेयर बजारमा सकारात्मक संकेतः बजार सम्हालिँदा लगानीकर्ताहरु उत्साहित

सेयर बजारले ओरालो यात्रालाई बुधबार पनि निरन्तरता दियो। नेपाल स्टक एक्सचेञ्जको अन्तिम अपडेटअनुसार बुधबारको  सेयर कारोबार मापक नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा सीमित भएको छ ।

बजार घटे पनि बुधबारको अन्तिम दुई घण्टा बजारको अवस्था देखेर भने धेरै सेयर बजारका जानकारहरु भने उत्साहित देखिन्छन्। कारण आज १२ः४१ बजे घटेर २७८२.३५ विन्दुमा पुगेको नेप्से एकाएक कोल्टे फेर्दै २८२३.८७  विन्दुमा पुग्नुलाई मानेका छन्। 

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको धेरै आकर्षण देखिएको छ । पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टीपर्पस फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा पुगेर कारोबार भएको छ ।

बुधबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमशः पोखरा फाइनान्स कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, आइसिएफसी कम्पनी लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । 

बुधबार सर्वाधिक कारोबार हुने दश कम्पनीहरूमा क्रमशः नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, अपर तामाकोशी र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् ।

सेयर बजार हात्तीको चाल जस्तो हुने उर्जा विकास परिषद्का अध्यक्ष एवमं नेपालका पुरानामध्येका ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउँ छन् । बजार ओरालो लागे पनि बिस्तारै झर्ने र उकालो लाग्दा पनि बिस्तारै चढ्ने बताउँदै उनले सेयर बजारमा पनि अहिले यही प्रभावले गर्दा आधारभूत र प्राविधिक दुवै पक्षले काम नगर्ने बताउँछन् । लगानीकर्ताहरूमा दिन दुई गुणा, रात चौगुना बनाउन खोज्ने स्वभाव हुन्छ भन्दै उनी थप्छन्, धेरैजसो लगानीकर्ताहरू शहरमा छन् । जहाँ उनीहरूले आफूभन्दा धेरै धनी व्यक्तिहरू देखिरहेका हुन्छन् । उनीहरूलाई पनि पैसा कमाउने इच्छा हुन्छ । त्यसैले, सेयर बजार अझै बढ्छ तल जाँदैन ।

अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुने बताउछन् उनी ।

बोर्डको नकारात्मक विज्ञप्तिपछि आज घटेर पनि सम्हालिएको सेयर बजारले बजार अझै बलियो रहेछ भन्ने कुरा पुष्टि गर्ने तर्क गर्छन् उनी । लगानीकर्ताहरू पनि आत्तिएका छैनन् भन्ने देखिएको उनको भनाइ छ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने यो करेक्सनले गर्दा अझै धेरैमाथि जाने उनको दावी छ । 
त्यस्तै नेपाल पूँजी बजार विकास अभियानका संयोजक तिलक कोइराला बजारमा खरिदकर्ताहरूको उपस्थिति राम्रो देखिएको भन्दै उनले अहिल्यै लगानीकर्ताहरू आत्तिएर बजारबाट निस्किनु पर्ने अवस्था नरहेको बताउँछन् । कारोबार रकम घटे पनि बजारमा बिक्री गर्नेभन्दा खरिद गर्नेहरूको सक्रियता बढेको उनको तर्क छ ।

समग्र नेप्से कतिले बढ्ने, कतिले घट्ने भनेर कसैले पनि ठेक्का लिन नसक्ने बताउँदै उनी कम्पनी हेरेर लगानी गर्नु पर्ने बताउँ छन् । कुन कम्पनीको सेयरमूल्य घट्छ कुनको बढ्छ भन्ने यकिन कसैलाई पनि नहुने उनको दावी छ । त्यसैले, लगानीकर्ताहरूले लगानी गर्ने बेलामा राम्ररी कम्पनी छनोट गर्नुपर्ने उनको भनाइ छ । कुनै पनि कम्पनीमा लगानी गर्दा उक्त कम्पनीको लाभांश क्षमता हेर्नुपर्ने उनी बताउँछन् । यसरी लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुने उनले बताए ।

इन्भेस्टर्स फोरमका अध्यक्ष, लगानीकर्ताका नेता एवमं विश्लेषक छोटेलाल रौनियारका अनुसार अब केही दिनमा बजार फेरि उकालो लाग्ने हुनाले डराउनु पर्ने अवस्था छैन । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने उनको भनाइ छ । अहिले सेयर बजारको बाली पाक्ने समय भएको उनी बताउँछन् । बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो रहेको र जलविद्युत कम्पनीहरूले पनि हकप्रद निष्कासन गर्ने कुराहरू आइरहेको हुनाले बजार बलियो हुने उनको भनाइ छ । यी सबै कुराहरूहरूले गर्दा आफूले सेयर बजार सकारात्मक देखेको उनले बताए ।

बैंकको व्याज दर बढेको भए पनि सेयर बजार घट्ने थियो भन्दै उनले आउँदो ६।७ महिना व्याजदर बढ्ने सम्भावना नदेखिएको बताए  । हाल संसारभर सेयर बजारले नयाँनयाँ रेकर्ड बनाइरहेको बताउँदै उनले सेयर बजार लामो समयसम्म नघट्ने दावी गरे । 

आफूसँग राम्रो कम्पनी छ भने बजार घटे पनि खासै प्रभाव नपर्ने उनको भनाइ छ । बजारलाई बढ्न केही कुराले नरोक्ने बताउँदै उनले सबै लगानीकर्तालाई राम्रो कम्पनी छनोट गरी ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनका अनुसार अहिले सेयर बजारमा सेयर खरिद गर्ने एकदमै सुनौलो अवसर हो ।

अहिले बजारका जानकारहरु पनि बजारमा सेलिंग प्रेसर अब नआउने तर्क गर्छन।  म्युचल फण्डहरुबाट आइरहेको बिक्रि चाप अब सकिएकाले अबका दिन सेयर बजारलाई सुनौलो हुने उनीहरुको अपेक्षा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको