मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले हिजाे (साउन ५ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुन : निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा एक लाख भन्दा धेरै आवेदकले आवेदन दिएका छन् ।
मंगलबार साँझसम्ममा २ सय ८१ जना आवेदकबाट ७० लाख २६ हजार रुपैयाँ बराबरको ७० हजार २ सय ७० कित्ताका लागि आवेदन परेकाे छ । जसमध्ये आयाेजना प्रभावितको तर्फबाट ३७ जना आवेदकले १० हजार ५ सय ६० कित्ता र सिन्धुपाल्चोकका अन्य स्थानहरुबाट २ सय ४४ जनाले ५९ हजार ७ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा ४०० कित्ताका लागि छिटोमा साउन १७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस