एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा अपेक्षित संख्यामा आवेदन नपरेपछि आवेदन दिने अवधि थप गरिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। यसमध्ये पहिलो चरणमा ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीयका लागि छुट्याइएको सेयरमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का बासिन्दालाई आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ। त्यसैगरी मध्यम प्रभावित क्षेत्रका रूपमा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का स्थानीयलाई १ लाख ४१ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।
त्यस्तै न्यून प्रभावित क्षेत्रअन्तर्गत रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का बासिन्दाका लागि ९४ हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सुरुमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने समय तोकिएको भए पनि पर्याप्त आवेदन नआएकाले अवधि थप गर्दै चैत १० गतेसम्म कायम गरिएको कम्पनीले जनाएको छ। यद्यपि सो अवधिभन्दा अघि नै आवश्यक संख्यामा आवेदन प्राप्त भएमा निष्काशन प्रक्रिया त्यही बेला बन्द गर्न सकिने उल्लेख गरिएको छ।
आवेदन दिन इच्छुक स्थानीय बासिन्दाले ओखलढुङ्गास्थित कम्पनीको आयोजना कार्यालयबाट पनि फाराम भर्न सक्नेछन्। यसका साथै लक्ष्मी सनराइज बैंकका किन्जा, शिवालय र प्रिति शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्बा शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सिटिजन्स बैंकको लिखुपिके शाखाबाट समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको वित्तीय अवस्था र दायित्व बहन क्षमताको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले एपोलो हाइड्रोपावरलाई “केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।
एपोलो हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस