Like us!
Follow us!
Connect us!
Watch us!

चुनावमा रास्वपाको रुझान: चार पूर्व अर्थमन्त्रीको सर्वनाक हार, वर्षमानले जोगाए इज्जत

अर्थ संसार

सोमबार, २५ फागुन २०८२, १२ : ५१ मा प्रकाशित

चुनावमा रास्वपाको रुझान: चार पूर्व अर्थमन्त्रीको सर्वनाक हार, वर्षमानले जोगाए इज्जत

फागुन २१ गते भएको प्रतिनिधि निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको मत परिणाम करिब अन्तिम चरणमा पुगेको छ । मत परिणाम अन्तिम चणमा पुग्दा पुराना पार्टीका सबैजसो शिर्ष नेताहरु पराजित भएका छन् । पुराना पार्टीका प्रमुखहरु मध्ये नेकापा अध्यक्ष प्रचण्ड बाहेक सबै नेताहरु संसद बाहिर नै रहने भएका छन् । 

यो निर्वाचनामा राज्यको अर्थको बागडोर सम्माली सकेका ५ जना नेताहरु मैदानमा होमिएका थिए । चुनावको मैदानबाट चार जना पूर्व अर्थमन्त्रीहरु संसद प्रवेश गर्न सकेनन् । एक जना भने निर्वाचन जितेर फेरि पनि संसदमा प्रवेश गर्न सफल भएका छन् । यो चुनावमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वअर्थमन्त्रीहरु चुनावी मैदानका उत्रिएका थिए । पाँच जना पूर्व अर्थमन्त्रीमध्ये नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन मात्रै विजयी हुन सफल भए । 

यो पटकको निर्वाचनमा रास्वपाले पुराना पार्टीहरुलाई सबै क्षेत्रमा निकै कमजोर बनाएको छ । रास्वपाको रुझानमा परेर पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, ज्ञानेन्द्र कार्की, प्रकाश सरण महत र जनार्दन शर्मा पराजित भए । एमालेका उपाध्यक्ष तथा पाँचपटक अर्थमन्त्री भएका नेता विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट फराकिलो मतान्तरले पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग पराजित भएका हुन् । पौडेल २०७२ देखि हालसम्म ५ पटक अर्थमन्त्री बनिसकेका छन् । गत भदौ २२ र २३ गतेको अन्दालन हुनु भन्दा अघि पनि अर्थमन्त्री नै थिए ।  पूर्वअर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित भए । यस अघिका चुनावमा त्यहाँबाट भारी मतले विजयी हुँदै आएका उनी पुरानो पार्टीबाट बाहिरिए पछि रुकुमका जनताले पनि उनलाई विश्वास गरेनन् । आफ्नो पुरानो पार्टी एकीकृत नेकपा माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनी पुरानै पार्टीका उम्मेदवारसँग पराजित हुन  पुगेका हुन् ।

१४ हजार ३ सय ४६ मत ल्याएका उनले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । उनका प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याई विजयी भए । दोस्रो स्थापनमा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत सहित दोस्रो स्थान हासिल गरेका थिए । शर्मा २०७८ मा कांग्रेस पुर्व सभापति शेरबहादुर देउवा नेतृत्च सरकारमा अर्थमन्त्री बनेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी– ४ बाट पराजित भएका छन्  । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका दिपककुमार साहसँग पराजित भएका हुन् । त्यहाँ साहले ४२ हजार ७७१ मत पाउँदा कार्कीले १६ हजार ५७८ मत मात्रै पाएका छन् । 

त्यस्तै, कांग्रेसकै नेता डा. प्रकाशशरण महत नुवाकोट निर्वाचन क्षेत्र एकबाट पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनासँग पराजित भएका हुन् । तिमिल्सिनाले २२ हजार ६०९ मत पाएर विजयी भए भने महतले १८ हजार ५९७ मत मात्रै पाए ।  यसपटक निर्वाचनमा भाग लिएका पूर्व अर्थमन्त्रीहरुमध्ये वर्षमान पुन मात्रै विजयी भएका छन् । उनी रोल्पाबाट २७ हजार ४ सय ६० मत प्राप्त गर्दै विजय भएका हुन् । उनले नेपाली कांग्रेसका सुदनकुमार वलीलाई ठुलो मतान्तरले हराएका हुन । वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् । पुन हालसम्म २ पटक अर्थमन्त्री भैसकेका छन् ।

पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा पनि निर्वाचनमा पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव उठेका उनी रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएका हुन् । महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा जबराले १३ हजार ५ सय २० मत मात्रै प्राप्त गर्न सफल भएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको