Like us!
Follow us!
Connect us!
Watch us!

शंकर ग्रुपले ८ अर्बको लगानीमा पाँचतारे होटल खाेल्दै

अर्थ संसार

बुधबार, २० साउन २०७८, १४ : ३५ मा प्रकाशित

शंकर ग्रुपले ८ अर्बको लगानीमा पाँचतारे होटल खाेल्दै

कोरोना महामारी बीच काठमाडौंको नक्सालमा ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ ।

नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो ।

आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा ६ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो ।

सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।

पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५  ओटा गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तरराष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।

उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।

अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।     
     
निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६ ओटा, चारतारे १९ ओटा, तीनतारे ३३ ओटा, दुई तारे ४१ ओटा र एकतारे ३४ ओटा होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।     
     
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिंदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको