लोडशेडिङको अन्त्य भए पनि विनाजानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।
यस्तै, नयाँ बत्ती जडानका लागि मीटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो । पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या भोग्दै आएका छन् । गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेका बेला विनाजानकारी बिजुली काटिन्छ । समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ ।
प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन् ।
विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जानकारी दिएको छ ।
विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मीटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
प्राधिकरणका कार्यकारी घिसिङले सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सातओटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याबारे छलफल गरेका हुन् । छलफलको कार्यसूची अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न उनले निर्देशन दिएका छन् ।
‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, यस्ता गुनासा मलाई मात्रै होइन, ऊर्जा मन्त्रीकोमा समेत आउने गरेको छ । यस्ता गुनासालाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।
उनले भने, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवामा सुधार गर्न आपैm सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल शुरू गर्नुपर्छ ।’ उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘विद्युत्को माग बढाउन ग्राहकले माग्नसाथ ‘थ्रि फेज’ मीटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम शुरू गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’
खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरीदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लीलामी र ट्रान्सफर्मरको मर्मत समयमै आफ्नै वर्कसपमा गरिनेछ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरीद, कोटेशनमार्पmत हुने खरीदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिनेछ ।
कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्नेजस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।
(याे समाचार आजकाे आर्थिक अभियानमा छ ।)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस