Like us!
Follow us!
Connect us!
Watch us!

चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, ०७ : १० मा प्रकाशित

चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

आगामी चैत्र महीनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।

आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘अहिले हेडवर्क १०/१५ मीटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।’ चैतमा काठमाडौंमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले बताएको छ । हेडवर्कमा कति क्षति भएको छ, त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए ।

उनले भने, ‘साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसैले समय लाग्न सक्ने देखिएको छ ।’

हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ ।

बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनर्निर्माण गर्ने कि नयाँ रेखांकनमा गर्ने भनी छलफल भइरहेको जानकारी सूचना अधिकारी पन्तले दिए । सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारीको भनाइ छ । अहिले भएको सडकको विकल्पमा अर्काे ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीन रूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले जानकारी दिए । अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ । ‘यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाउने काय भइरहेको छ,’ उनले भने, ‘हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम पनि भइरहेकोे छ ।’

सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृत रूपमा मूल्यांकन गरिनेछ । सडक पहिलेको रेखांकनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनको भनाइ थियो । ‘भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ,’ उनको भने, ‘त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।’

आयोजनामा हालसम्म रू. २ अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनर्निर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तको अनुमान छ । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उनको भनाइ छ ।

आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ । दीर्घकालीन मर्मत शुरू गर्नुपहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिरोको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ । सम्बद्ध निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उनको जोड छ । अध्ययन सकिएर निष्कर्षका आधारमा अरू पूूर्वाधारको डिजाइन गर्ने, पुनरवलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने भएको छ । उनले भने, ‘माथिल्लो भागमा पहिरोको रोकथाम नियन्त्रणका लागि एकीकृत कार्यक्रम बनाएर जानुपर्छ ।’

अल्पकालीन रूपमा आयोजनाबाट पानी ल्याउन वैकल्पिक पथान्तरण सफा गर्ने, अम्बाथान अडिट सफा गर्ने योजना बनाइएको छ । हालका लागि सानो एउटा वैकल्पिक ड्याम बनाएर पानी ल्याउन लागिएको छ । अल्पकालीन कार्ययोजनामा चुनौती भनेको नदीको स्तर पुरानै स्तरमा बनाउनु रहेको छ । उनले भने, ‘त्यसमा अलि बढी समय लाग्नसक्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको