Like us!
Follow us!
Connect us!
Watch us!

सीमा विवादभन्दा गम्भीर विषय बजेट हो भनेको छैन - सभामुख अर्याल

अर्थ संसार

मंगलबार, १९ जेठ २०८३, १६ : ०८ मा प्रकाशित

सीमा विवादभन्दा गम्भीर विषय बजेट हो भनेको छैन  - सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्याल (डीपी)ले नेपाल–भारत सीमा विवादका विषयमा प्रतिनिधिसभामा उठेका चासोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमा सम्बन्धी विषय गम्भीर भएकाले यसबारे उठेका धारणा र सुझावलाई गम्भीरतापूर्वक लिइएको बताए।

यसअघि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’  प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति विपक्षी दलहरूले सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन्। उनीहरूले अभिव्यक्तिको तथ्यगत आधारबारे स्पष्ट पार्न माग गर्दै आएका छन् भने प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडानसमेत राखेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलहरूले उठाएको विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए। उनले विवादित विषयमा पर्याप्त छलफल र स्पष्टता नआएसम्म सदनलाई बलजफ्ती ढंगले अगाडि नबढाउन आग्रह गरे।

‘साउन १ गतेबाट लागू हुने नयाँ आर्थिक बर्षको बजेट भन्दा देशको सीमानाको बारेमा प्रधानमन्त्री ज्युले बोल्नुभएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक र सदनको तर्फबाट सभामुखको पहल अविलम्व होस्’, दुलालले भनेका थिए, ‘सभामुखबाट प्रधनमन्त्री जीलाई रुलिङ होस् । यसको समस्याको समाधान होस् ।’

विपक्षी दलहरूले आफूलाई समेत जोडेर विषय अगाडि बढाउन खोजेपछि सभामुख अर्यालले प्रष्टीकरण दिएका हुन् ।

‘माननीय सदस्यहरूले राख्नुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘सरकाले पक्कै पनि यहँहरूले राखेको विषयलाई गम्भीर रूपमा लिएकै छ ।  यसको समाधानको विषय त सरकारले आफ्नो तर्फबाट जवाफ दिने र माननीय सदस्यहरूले उठाएको विषयमा सरकारसँग मैले सभामाुखको हैसियतले गर्ने संवाद, विपक्षी दलका नेताहरूसँग गर्ने संवाद पक्कै पनि हामी यो विषय उठेदेखि गरिरहेका छौं र त्यो निरन्तर गरेर यसको निषकर्षमा त पुगी नै हालिन्छ । यसकारणले मैले यो विषय गम्भीर होइन् । त्यो भन्दा गम्भीर विषय बजेट हो भनेर भनिरहेको होइन । हामीले कार्यसूचीमा राखेका विषयलाइ अगाडि लिएर जाऔं, यहाँहरूले राख्नु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु । त्यसकारण हामीले आज हाम्रो कार्यसूची अगाडि बढाऔं । यहाँहरूले राखेको विषयमा पनि संवाद गर्दै जाऔं ।’

तर, विपक्षी दलहरूले सभामुखको आग्रह मानेनन् । सभामुखले राष्ट्रपतिबाट प्रमणीकरण भएका विधेयकबारेको सूचना सभालाई गराए । त्यसपछि बैठक स्थगित गरे । अर्को बैठक जेठ २५ गतेका लागि राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको