Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन मानव बेचबिखन

पत्रपत्रिका

सोमबार, २१ भदौ २०७८, ०७ : ३७ मा प्रकाशित

रोकिएन मानव बेचबिखन

कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउछन् ।

यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उनी बताउँछन् ।

ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए । नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए । त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पु-याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग भइन्।

इन्कार गर्दा गर्दै तलवसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उनी भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुगिइन् । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उनी यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल भइन् ।

नेपालमा माइती नेपालको संरक्षणमा रहँदै पीडक मधु श्रेष्ठविरुद्ध मुद्दा हालिइन् । प्रहरीले उनको उजुरीका आधारमा पीडकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । यी जस्तै रोजगारको बहानामा बेचिने पुरुषभन्दा महिला बढी रहेको ब्युरोको त्रिवर्षीय तथ्याङ्कले देखाउँछ । 

जसअनुसार आर्थिक वर्ष २०७५/०७६ मा बेचिने पुरुषको सङ्ख्या ७१ हुँदा महिलाको सङ्ख्या ३१६ जना रहेका छन् । त्यस्तै २०७६/७७ मा पुरुष १४ र महिला ११९ जना बेचिएको घटना दर्ता भएको छ । आर्थिक वर्ष २०७७/७८ मा पुरुष चार र महिला १८३ जना बेचबिखनमा परेको मुद्दा छ । मुद्दा दर्ताको हकमा तीन वर्ष नै भने महिलाले भन्दा बढी पुरुषले दर्ता गराएको पाइएको छ ।

दुरुपयोग उस्तै

अचेल विदेशमा काम लगाइदिन्छु भनेर मात्र होइन, विदेश घुमफिरको बहानामा पनि मानव बेचबिखनको गतिविधि बढ्दो छ । ब्युरोका प्रवक्ता द्विवेदीका अनुसार भिजिट भिसामै कैयौँ महिलालाई खाडी मुलुक पुर्याइएको घटना दर्ता भएका छन् ।

उनका अनुसार घुम्ने बहानामा ती मुलुकमा पुगेपछि बढाउन मिल्नेसम्म बढाएर बसाउने, नमिलेको खण्डमा लुकिछिपी महिलालाई अवान्छित काममा लगाउने प्रवित्ति दलालहरूले लिएको पाइन्छ । पहिलो चरणको बन्दाबन्दीमा भारत र नेपाल दुवैतिर कडा थियो तर जब भारतमा बन्दाबन्दी खुल्यो, त्यसपछि भिजिट भिसाको बहानामा दुबई, कतार, कुवेत, जोर्डन, ओमानलगायतका धेरै मुलुकमा नेपाली महिला पुर्याइएको पाइएको छ । त्यति मात्र होइन, पछिल्लो समय मानव बेचबिखनको प्रवित्तिमा थाइल्यान्ड, कम्बोडिया, चीन, कोरिया जस्ता मुलुकमा पनि भिजिट भिसा र वैवाहिक सम्बन्धको बहानामा महिला बेचबिखन भएको पाइएको उनले जानकारी दिएका छन् ।

चीनजस्तो समृद्ध मुलुकमा पनि विवाहको सम्बन्धपछि गएर मानव बेचबिखनमा परिवर्तन हुँदै मुद्दा दर्तासम्म पुग्ने गरेको छ । सामाजिक सञ्जालमार्फत विदेशमै बसेका दलालले नेपाली महिलालाई जालझेल गरी प्रलोभनमा पारी विदेश आमन्त्रण गर्ने गरेको पाइएको प्रवक्ता द्विवेदीले जानकारी दिए। 

यो समाचार आजकाे गोरखापत्र दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको