Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय गौरवको आयोजना निर्माणमा स्थानीय जनप्रतिनिधिकै अवरोध

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, ०९ : ५४ मा प्रकाशित

राष्ट्रिय गौरवको आयोजना निर्माणमा स्थानीय जनप्रतिनिधिकै अवरोध

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशूली-रसुवागढी सडकखण्डको बेत्रावती-नयाँपुल खण्डको सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेका छन् ।

मुआब्जाको कारण देखाउँदै उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्ष ईश्वर थापा तथा उनका परिवारले अवरोध गरेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेँसी-रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । रसुवाको बेत्रावती बाई जक्सनदेखि नयाँ पुलसम्मको जग्गा प्राप्त गर्नका लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँगको विवाद रहेको भनी अवरोध गरिरहेकाले हालसम्म पनि पूर्ण हुन नसकेको उनले बताए ।

हालसम्म २० जनाभन्दा बढी जग्गाधनीले मुआब्जा लिइसकेका छन् । आयोजनाका अनुसार आगामी एक साताभित्र करिब ३० जना जग्गाधनीले मुआब्जाबापतको रकम लिइसक्ने योजना छ । आयोजनाबाट मुआब्जा रकम वितरणमा कुनै समस्या नरहेको समेत आयोजना प्रमुख भण्डारीले बताए । नापी तथा मालपोत कार्यालयबाट दाखिला भई आएमा जग्गाधनीको खातामा मुआब्जाबापतको रकम तत्काल जम्मा गरिदिने गरेको उनले बताए । 

सोही क्षेत्रमा सोमबार योजना प्रमुख नारागणदत्त भण्डारीको उपस्थितिमा निर्माण कार्य सुरु भई ३०० मिटर कार्य गरिरहँदा स्थानीयले अवरोध नगरेको तर वडा अध्यक्ष थापासहित उनका परिवारले अभद्र व्यवहार गरी ढुंगामुढा गरेको तथा एक्साभेटर अपरेटरलाई आक्रमणको प्रयाससमेत गरेको आयोजना प्रमुखले बताए । उनका अनुसार त्यस बेला नेपाली सेनाको टोपी लगाएका एक जनासमेत अवरोध गर्न उपस्थित भएका थिए ।

उनीहरूले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत हस्तक्षेप गरेको बताइएको छ । वडा अध्यक्ष तथा उनको परिवारबाट भएको अभद्र व्यवहारका कारण आयोजनाको काममै प्रभाव परेको भण्डारीको गुनासो छ । काम गर्न समस्या भएसँगै योजनाले जिल्ला प्रशासन कार्यालय रसुवालाई सुरक्षा व्यवस्था गरिदिन माग गरेको छ । सोमबार मात्र सडक निर्माण गरिरहँदा अन्य क्षेत्रबाट कुनै अवरोध नआएकामा उत्तरगया गाउँपालिका- ५ का वडा अध्यक्षसहित उनको परिवारले कार्यक्षेत्रमा अभद्र व्ययहार गरेको र ढुंगामुढा गर्नुका साथै अपरेटरमाथि हातपातसमेत गर्न खोजेपछि योजनाले तत्काल निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय रसुवा समक्ष सुरक्षा माग गरेको छ ।

मंगलबार बेत्रावतीदेखि नयाँपुलसम्मको तीन किलोमिटर सडक स्तरोन्नतिका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिएको थियो । तर, वडा अध्यक्ष  तथा उनका परिवारले काममा अवरोध गरेकाले काम अघि बढ्न नसकेको भण्डारीले बताए । शान्ति, सुरक्षा माग गरेको भए पनि, साइटमा सुरक्षाकर्मी आए पनि वडा अध्यक्ष र उनको परिवारले गरेको अवरोध हटाउन नसक्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

उक्त सडक छेउमा पर्ने ६१ वटा घरटहराको क्षतिपूर्तिबापत तीन करोड ५० लाख रुपैयाँ यसअघि नै दिइसकिएको उनले बताए । अहिले उक्त क्षेत्रका १२७ जना जग्गाधनीमध्ये २० जनाको मुआब्जाको रकम दिइसकेको समेत उनले जानकारी दिए । ३० जनाको एक सातामा वितरण हुने उनको भनाइ छ । बाँकी जग्गाधनीको कागजातसहित प्रक्रिया पुर्‍याएर आएपछि सबै रकम भुक्तानी हुने उनले बताए । मुआब्जाको रकम वितरणका लागि कार्यालयसँग ५० करोड रुपैयाँ रहेको बताइएको छ ।

बेत्रावतीदेखि नयाँपुलसम्मको तत्काल पिच गर्ने सडकको दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर क्षेत्र योजनाले अधिग्रहण गर्नेछ ।

यो सडक रूपान्तरणकारी (गेम चेन्जर) उच्चप्राथमिकताप्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुवेँसीसम्म र तेस्रो खण्ड स्याफ्रुवेँसीदेखि रसुवागढीसम्मको हो । स्याफ्रुवेँसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए तापनि अहिलेसम्म सुरु हुन सकेको छैन । (न्यूज कारखाना)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको