Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरु, यस्तो छ पुनर्निर्माणको प्रगति

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, ०८ : ५७ मा प्रकाशित

पुनर्निर्माणका बाँकी कार्यहरू हस्तान्तरण सुरु, यस्तो छ पुनर्निर्माणको प्रगति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी निजी आवासलगायतका संचनाहरूको पुनर्निर्माणसम्बन्धी बाँकी कार्यहरू सम्बन्धित निकायमा हस्तान्तरण सुरु भएको छ ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरू तथा सडक एवं पुलहरूको कार्य हस्तान्तरण गरिएको हो ।

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरू शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

यसका साथै सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)मार्फत संचालित सम्पदा एवं गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी कार्यहरू पनि उक्त विभागलाई हस्तान्तरण गरिएको बताइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहले उक्त बाँकी कार्यहरू शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी कार्यहरू पनि शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले उक्त कार्यहरू शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे ।

पुनर्निर्माण गर्न बाँकी शैक्षिक संस्थाहरूको पुनर्निर्माणसम्बन्धी कार्यहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सोअन्तर्गतका तोकिएका जिल्लास्थित कार्यालयहरूमा हस्तान्तरण गरिएको छ ।

यी बाँकी रहेका कार्यहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे ।

त्यसैगरी सडक तथा पुलहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ । अब यस विभागले गुम्बा व्यवस्थापन समितिको समन्वयमा १०० वर्ष नपुगेका पुनर्निर्माण गर्न बाँकी गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी कार्यहरू पनि गर्नेछ ।

उल्लेखित बाँकी कार्यहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टालाई हस्तान्तरण गरे ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यसहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन इकाईअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेष्ता कागजात, बेरुजु विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् । हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरूले तत्कालै पुनर्निर्माणका कार्यहरू संचालन गर्नेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये मूलभूत रूपमा प्रायः सम्पूर्ण कार्यहरू सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेका बताए ।

ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी २१ देखि २३ मंसिरसम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्रसहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले हस्तान्तरण भएर आएका कार्यहरू तोकिएको समयभित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।

गत ९ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २०औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरू सम्बन्धित निकायहरूमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरू हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी १० पुससम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्नेछ । साथै, लेखापरीक्षणका अतिरिक्त हस्तान्तरण गर्ने कामहरूको सहजीकरण, लेखापरीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका कामहरू पनि सम्पादन गर्नेछ ।

यस्तो छ पुनर्निर्माणको प्रगति (३१ असार २०७८ सम्म)

पुनर्निर्माण लाभग्राही

अनुदान सम्झौता गरेका लाभग्राहीः आठ लाख २९ हजार ६६७
पहिलो किस्ता लिएका लाभग्राहीः आठ लाख २८ हजार ७६३ (९९.८९ प्रतिशत, अनुदान सम्झौताका आधारमा)
दोस्रो किस्ता लिएका लाभग्राहीः सात लाख ५० हजार ४५९ (९०.४५ प्रतिशत)
तेस्रो किस्ता लिएका लाभग्राहीः सात लाख तीन हजार ३०७ (८४.७७ प्रतिशत)

विद्यालय भवन

लक्ष्य: सात हजार ५५३
पुनर्निर्माण सम्पन्न: छ हजार ६४७ (८७.६६ प्रतिशत)
पुनर्निर्माण जारी: ९३६ (१२.३४ प्रतिशत)

स्वास्थ्य संस्थाका भवन

लक्ष्य: एक हजार १९७
पुनर्निर्माण सम्पन्न: ७५१ (६४.५२ प्रतिशत)
पुनर्निर्माण जारी:  ३५४ (३०.४१ प्रतिशत)

सांस्कृतिक सम्पदा

लक्ष्य: ९२०
पुनर्निर्माण सम्पन्न: ५८६ (६३.७० प्रतिशत)
पुनर्निर्माण जारी: १९५ (२१.२० प्रतिशत)

सरकारी भवन

लक्ष्य: ४१५
पुनर्निर्माण सम्पन्न: ३८८ (९३.७२ प्रतिशत)
पुनर्निर्माण जारी:  २० (४.८३ प्रतिशत)

सुरक्षा निकायका भवन

लक्ष्य: २१६
पुनर्निर्माण सम्पन्न: २१६ (१०० प्रतिशत)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको