Like us!
Follow us!
Connect us!
Watch us!

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

पत्रपत्रिका

मंगलबार, ०५ असोज २०७८, ०७ : २० मा प्रकाशित

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुँदै

चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका  छन् । घोषणा गरी  निर्माण  कार्य  गर्न  बजेट  विनियोजन  भइसकेको  उद्योग,  वाणिज्य  तथा  आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ ।विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । 

मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल मरासिनीले  भने, “नयाँ औद्योगिक ग्राम घोषणाका लागि नयाँ करिब १५ वटा प्रस्ताव आइसकेका छन् । मापदण्डअनुसार चेकजाँच गरेर तयारी अवस्थामा छ । मन्त्री आएपछि क्याबिनेटमा लैजाने र घोषणा गर्ने काम हुन्छ ।”

औद्योगिक ग्राम घोषणा गर्ने योजना भए पनि २९ वटा मात्र गरिएको थियो । मापदण्डअनुसारका प्रस्ताव नआएपछि घोषणा गर्न नसकिएको मन्त्रालयले जनाएको छ । कोरोना महामारीको बन्दाबन्दीले पनि प्रभावित बनाएको मरासिनीको भनाइ छ । स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भएको कारणले पनि कम घोषणा हुन पुगेको उनको भनाइ छ ।

गत मङ्सिरमा १३ वटा र माघमा १६ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको थियो । प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार आर्थिक वर्ष २०६७÷७७ देखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ । २०६७÷७७ मा ४५ वटा औद्योगिक ग्राम घोषणा गरी निर्माण भइरहेको छ । हालसम्म ७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भई निर्माण कार्य भएका छन् । चालू आर्थिक वर्षमा थप ५० वटा घोषणा हुनेछन् । एउटा उद्योग ग्रामका लागि मन्त्रालयले स्थानीय तहलाई तीन किस्तामा तीन करोड रुपियाँ अनुदान दिन्छ ।

केन्द्रीय सरकारले योजना बनाएअनुसार प्रस्ताव आउन नसकेपछि मन्त्रालयले कार्यविधि परिवर्तन गरेको छ । उपसचिव मरासिनीले भने, “स्थानीय तहहरूको रायसुझावअनुसार कार्यविधि अलिकति हेरफेर गरेका छौँ, थप सहज र प्रभावकारी बनाउन यसो गरिएको हो ।” उनका अनुसार औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा  ३० रोपनी जग्गा  हुनुपर्नेमा घटाएर २५ रोपनी बनाइएको छ । पहाडमा ४० रोपनीबाट घटाएर ३५ रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ  ।  

तराईमा सात बिघा नै कायम राखिएको छ । औद्योगिक ग्राम घना बस्तीदेखि न्यूनतम १ किलोमिटर टाढा हुनुपर्नेछ । सङ्घीय,  प्रदेश  र  स्थानीय  तहको  सहभागितामा  निर्माण  गर्ने  गरी  औद्योगिक  ग्राम घोषणा गरिँदै आएको छ । स्थानीय तहले औद्योगिक ग्रामको सम्पूर्ण विकास निर्माण तथा सञ्चालन  व्यवस्थापन  गर्छ  ।

 स्थानीय  तहले  प्रदेश हुँदै सङ्घीय मन्त्रालयमा प्रस्ताव पठाएपछि अध्ययन  गरेर  घोषणा  गर्ने  व्यवस्था  छ  ।  गत  वर्ष घोषणा गरिएका २९ वटा औद्योगिक ग्रामलाई मन्त्रालयले ९२ लाख रुपियाँ उपलब्ध गराइसकेको छ  ।  दोस्रो  किस्ताको  रकम  पनि  विनियोजन  भइसकेको छ । ३० वटा ग्रामका लागि एक करोड रुपियाँका दरले ३० करोड रुपियाँ निकासा भएको छ । मरासिनीले भन्नुभयो, “गत वर्ष निर्माण सुरु भएका औद्योगिक ग्रामको दोस्रो किस्ता निकासा भएको  छ  तर  निर्माण  कार्य  प्रगतिका  आधारमा  दिइने भएको छ ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको