नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले उनीहरूलाई सम्मान गरेको हो ।
परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको छ । उनीहरू पर्यटन प्रवद्धन एवं विकासमा सक्रिय रहेका छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताएका छन् । उनले नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैँ तयार रहेको उल्लेख गरेका छन् ।
उनले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनका लागि पहल गर्न पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय हुने बताए । ‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दीगो बनाउन महिलाको भूमिका महत्वपूर्ण छ,’ उनले भने ।
नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन्स लिडरसिप फोरम र पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा सचिव कोइरालाले नेपाली वस्तुको उत्पादन वृद्धि गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आग्रह गरेका छन् । ‘हामी सधैँ आयातित वस्तुमा भर पर्ने होइन, अब नेपाली वस्तु उत्पादन वृद्धि गरी स्वदेशी आवश्यकता परिपूर्ति गर्न र निर्यातका लागि पनि तयार रहन म निजी क्षेत्रलाई आग्रह गर्छु,’ उनले भने ।
सचिव कोइरालाले नेपाल उद्योग परिसंघले अघि बढाएको मेक इन नेपाल – स्वदेशी अभियानले स्वदेशी वस्तु उत्पादनमा महत्वपूर्ण योगदान दिने उल्लेख गरेका छन् ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दीगो आर्थिक विकासको आधारशीला तयार गर्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने बताए । उनले नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थान आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्यको रूपमा रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको बताउनुभयो । उनले विभिन्न देशले नेपाललाई ‘रेड लिस्ट’मा राखेको भन्दै त्यसलाई हटाउन परिसंघले पहल गर्ने उल्लेख गरेका छन् ।
यसैगरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील बनाउन सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
त्यसैगरी, पर्यटन समितिकी सभापति पम्फा धमलाले सरकारले दिएका सुविधा वास्तविक लाभग्राहीले पाउन नसकेको उल्लेख गरेका छन् । उनले उद्यमीले सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस