देशभर जारी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति नेपाल उद्योग परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्ने क्रममा परिसंघले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको शुभकामना समेत गरेको छ।
परिसंघले युवा पुस्ताले अघि सारेको सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी अभियानलाई नयाँ युगको सुरुवातको संकेतका रूपमा लिएको छ। तर, आन्दोलनबीच निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणले उद्योग व्यवसायमा गम्भीर असर पारेको भन्दै लगानीकर्तामा त्रास बढेको चेतावनी दिएको छ।
“लगानीकर्ताले भयमुक्त वातावरण नपाए रोजगारीदेखि विदेशी लगानीसम्म प्रभावित हुन्छ,” परिसंघले जनाएको छ। औद्योगिक संरचना पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने भन्दै त्यसका लागि राज्य मात्र सक्षम नभएकाले निजी क्षेत्रलाई सुरक्षाको ग्यारेन्टी दिनुपर्ने माग गरिएको छ।
कोभिड–१९ पछि लिइएका कडा नीतिगत प्रावधानका कारण तीन वर्षदेखि अर्थतन्त्रले धक्का खेप्दै आएको परिसंघको भनाइ छ। अहिले पुनः उद्योग व्यवसाय सहज रूपमा सञ्चालन हुन नसके समग्र अर्थतन्त्र र सरकारी राजस्वमा ठूलो असर पर्ने चेतावनी परिसंघले दिएको छ।
यसैबीच, परिसंघको राष्ट्रिय परिषद बैठकले मुलुकको अप्ठ्यारो अर्थतन्त्रलाई अगाडि बढाउन राज्य र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। नयाँ पुस्ताको आकांक्षालाई मूर्तरूप दिन निजी क्षेत्रले आफ्नो तर्फबाट सशक्त प्रयास गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस