Like us!
Follow us!
Connect us!
Watch us!

तरलताको चरम अभाव : रिपोमा २.४८ गुणा बढी रकम माग

पत्रपत्रिका

शुक्रबार, १५ असोज २०७८, ०६ : १३ मा प्रकाशित

तरलताको चरम अभाव : रिपोमा २.४८ गुणा बढी रकम माग

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले पछिल्लो १ महीनामा पटकपटक गरेर १ खर्ब ३० अर्ब रुपैयाँको रिपो जारी गरेको छ, त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले औसतमा २ दशमलव ४८ गुणा बढी रकम माग गरेका हुन् ।

रकमका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ रकम माग गरेका छन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले त्यस बराबरको रकम माग गरेका हुन् । यसले बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव भएको पुष्टि भएको छ । राष्ट्र बैंकहरूअनुसार पछिल्लो समय बिडिङ राखिएको रकम सबै बैंकले लिने गरेका छन् ।

बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले भदौ १७ गतेयता ५ पटक गरेर उक्त बराबरको रिपो जारी गरेको थियो । त्यसमा ५ पटक नै बिडिङमा राखिएको रकमभन्दा बढी रकम नै माग भएको हो ।

कतिपय सरोकारवालाहरूले बैंकहरूले कृत्रिम रूपमा तरलताको अभाव बनाएको व्याख्या पनि गर्दै आएका छन् । वाणिज्य बैंकहरूले असोजको पहिलो साता ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसअवधिमा ८ अर्ब मात्र निक्षेप संकलन भएको छ । यस अवस्थामा बैंकहरूले कृत्रिम रूपमा तरलता अभाव गरेका हुन सक्ने उनीहरूको शंका छ ।

राष्ट्र बैंकले सीडी रेसियो लागू गरेपछि बैंकहरूले त्यसमा असन्तुष्टि पोखेका छन् । सोही विषयलाई लक्षित गरेर बैंकहरूले कृत्रिम रूपमा तरलता अभाव सृजना गरेको पनि आशंका गरिएको थियो । तर, राष्ट्र बैंकले पटकपटक रिपो जारी गर्नु र त्यसमा मागभन्दा बढी आवदेन आउनुले बैंकहरूमा साँच्चै नै तरलता अभाव भएको पुष्टि भएको छ ।

तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ क्षेत्रमा पैसा पठाउने गर्छ । राष्ट्र बैंकले रिपोमार्फत सीमित रकम बिडिङमा राख्छ । त्यसमा बैंकहरूले बोलकबोलमार्पmत उक्त रकम लिन सक्छन् ।

राष्ट्र बैंक सार्वजनिक ऋण व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरेश शाक्यले बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको बताए । ‘बजारमा तरलताको अभाव भएपछि हामीले पटकपटक रिपो जारी गर्दै आएका छौं । प्रत्येकपटक बिडिङमा राखिएको रकमभन्दा बढी माग भएको छ,’ उनले भने, ‘यसले बैंकिङ क्षेत्रमा तरलताको बढी नै अभाव भएको देखिन्छ ।’

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि तरलता अभावको समस्या कायमै रहेको बताए । साथै, यो समस्या तत्काल समाधान नहुने संकेत पनि देखिएको उनको भनाइ छ । ‘छिट्टै नै तरलता अभावको समस्या समाधान हुन्छ र कात्तिकदेखि ब्याजदर पनि घट्छ भन्ने आशा थियो । पुनर्कर्जाबापत आउने पैसा, विप्रेषण र सरकारी खर्चलगायत माध्यमबाट तरलता आउँछ भन्ने थियो । तर, तत्काल नै त्यस्तो हुने देखिएन,’ उनले भने, ‘अहिले विप्रेषण आप्रवाह नै घटेको छ । शोधनान्तर स्थिति (बीओपी) पनि ऋणात्मक छ । यस्ता परिसूचकमा नकारात्मक संकेत देखिँदा तरलता अभावको समस्या लम्बिने देखिएको हो ।’

अब बैंकहरूले कर्जा प्रवाहलाई कटाउनुपर्ने उनको भनाइ रहेको छ । ‘तरलता अभाव हुँदा पनि बैंकहरूले अत्यधिक मात्रा कर्जा प्रवाह गरेका छन् । अब पनि यही अवस्था भयो भने झन् नाजुक स्थिति आउन सक्छ,’ उनले भने, ‘तसर्थ, अब बैंकहरूले कर्जा प्रवाहमा कडाइ गर्नुपर्छ । साथै, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकले पनि सहयोगी भूमिका खेल्नुपर्छ ।’

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको