Like us!
Follow us!
Connect us!
Watch us!

दशैँमा सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक दु:खी

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १६ : ०७ मा प्रकाशित

दशैँमा सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक दु:खी

बागलुङको जैमिनी नगरपालिका-१ की ९० वर्षीया बसुन्धरा शर्माकाे यस वर्षकाे दसैँ खल्लो भएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेर दसैँका लागि आवश्यक तयारी गर्ने योजना बनाएकी शर्माले भत्ता नपाएपछि सबै योजना भताभुंग भएका हुन् ।

बसुन्धरा निसन्तान हुन् । विवाह गरेको एक साताभित्रै श्रीमानको निधन भएपछि उनी एकल जीवन बिताउँदै आएकी छन ।  घरमा दुई चार पैसा कमाइदिने कोही छैनन् । 

गत वर्षको बर्खामा पहिरोले घर भासिएपछि जैमिनी नगरपालिकाले ओत लाग्ने घर बनाइदिएको छ । तर निमेक गरेर खाने उमेर छैन । पर्दाको घडीमा काँध थाप्ने छोराछोरी छैनन् । बिहान बेलुकी हातमुख जोर्ने सहयोगी सामाजिक सुरक्षा भत्ता हो । यस वर्षको दसैँमा भत्ता नपाएपछि उनी निरास बनेकी छन् ।

नगरपालिकाले अख्तियारी ढिला आएको भन्दै समयमै सामाजिक सुरक्षा भत्ता रकम बैंकमा पठाउन नसक्दा सामाजिक सुरक्षा भत्ताको आशामा दसैँ मनाउने विपन्न परिवारलाई समस्या भएको छ । ‘हामीले बैंकको खातामा पैसा पठाइसकेका छौं, बैंकले पुर्‍याउँदै होला,’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने । स्थानीय तहबाट ढिला गरी रकम पठाउँदा बाँड्ने समय नपुगेको बैंक  कर्मचारीको भनाइ छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूह भत्ता पाउनबाट वञ्चित भएका हुन् । 

तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको थियो । दसैँ बिदा हुन दुई दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ताबापतको रकम बैंकमा पठाइएकाले दसैँअघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीको भनाइ छ । लेखा अधिकृतको सरुवालगायतका कारण समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ । बरेङ गाउँपालिकामा पनि भत्ता रकम बाँड्न ढिला भएको छ । 

बागलुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरपालिकाले भत्ता नपठाएको जवाफ पाउने गरेका छन् । आफ्नो पेन्सन नभएका ज्येष्ठ नागरिकलाई दसैँका लागि खुद्रा बनाउने र दसैँ खर्चको जोहो गर्ने आधार भत्ता रकम हो ।

नगरपालिकाले आइतबार साँझ मात्रा चेक पठाएको गरिमा विकास बैंक बागलुङ शाखाका प्रमुख ओमप्रकाश शर्मा पौडेलको भनाइ छ । ढिला गरी चेक प्राप्त हुँदा दसैँअघि भत्ता बाँड्न समस्या भएको हो । सम्झौताअनुसार स्थानीय तहले १५ दिनअघि चेक दिनुपर्छ । चेक प्राप्त भएको १५ दिनभित्र लाभग्राहीको खातामा रकम जम्मा हुनुपर्ने शाखा प्रमुख पौडेलले बताए । 

बागलुङको काठेखोला गाउँपालिकाकाे अधिकांश वडामा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भए पनि दसैँअघि नै सबैले भत्ता पाउनेगरी १५ असोजमै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले बताए । बैंक तथा वित्तीय संस्थामार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुई दिन समय लाग्ने गरेको बैंक कर्मचारीको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको