Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग : ९५ % काम सम्पन्न

अर्थ संसार

बुधबार, २७ असोज २०७८, १३ : २३ मा प्रकाशित

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग : ९५ % काम सम्पन्न

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।

पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जानकारी दिएको छ । ढिलोमा आगामी माघ महीनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ ।

फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट’ कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ । कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ ।

याम्दीदेखि सुुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला छ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाका इञ्जिीनियर अनन्त बरालले जानकारी दिए । 

सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उनले बताए ।

आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ । इञ्जिीनियर बरालले भने, ‘सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर यस आयोजनाको बाँकी काम त्यस भन्दा अघिनै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ ।’

असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम शुरु गर्न नसकिएको बताइन्छ । सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ । 

त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिीनियर बरालले बताए । विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीको ढिलासुस्तका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयवासीले गर्ने गरेका थिए ।  विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन् । सो खण्ड ३० मिटर फराकिलो छ । 

निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

‘गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो ।’ इञ्जिीनियर बरालले भने, ‘तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन ।’ 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ । जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन ।

आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रू. ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रू. ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको