Like us!
Follow us!
Connect us!
Watch us!

यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ संसार

आइतबार, ३१ असोज २०७८, १४ : ३४ मा प्रकाशित

यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।     
     
 उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

काठमाडौं उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौंसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।     
     
 रातिका समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।     
     
 देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै रुथानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले बताएको छ ।     
     
 कात्तिक २ गते मंगलवार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।     
     
 दशैंका समयमा  काठमाडौं उपत्यकासहित देशैभर मौसम सफा रही चर्को घाम लागे पनि दशैंको टीकाको दोस्रो दिन शनिवारदेखि काठमाडौंलगायत देशभर बदली र हल्का वर्षा भएको छ । काठमाडौंमा गएराति हल्का वर्षा भएको छ । आइतबार काठमाडौंको अधिकतम ३१ दशमलव ६ र न्यूनतम तापक्रम १८ डिग्रि सेल्सियस रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको