Like us!
Follow us!
Connect us!
Watch us!

दशैं, तिहारमा च्यांग्रा विक्रीबाट मुस्ताङमा भित्रियो ३५ करोड

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, ०८ : १० मा प्रकाशित

दशैं, तिहारमा च्यांग्रा विक्रीबाट मुस्ताङमा भित्रियो ३५ करोड

मुस्ताङबाट यसपालिको दशैं, तिहारमा ३५ करोड मूल्य बराबरको च्यांग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार च्यांग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले बताएको छ । केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दशैंमा ७ हजार र तिहारका लागि ३ हजार च्यांग्रा निकासी भएको जानकारी दिए ।

‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्यांग्रा बाहिरिएका छन्,’ उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा ३५ हजारका दरले च्यांग्रा बेचेका छन् ।’  तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधा संख्यामा भेडाच्यांग्रा निकासी भएको हो ।

अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको संख्यामा भेडाच्यांग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्यांग्रा मुस्ताङकै हुन् । व्यापारीहरूले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए ।

पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ शुल्क तिर्नुपर्ने हुन्छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्यांग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्यांग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्यांग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरूले मूल्य बढाएका छन् ।

गतवर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन् । जोमसोम पुगेर २ सय च्यांग्रा खरिद गरेका काठमाडौंका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँचदेखि १० हजारसम्म बढी तिर्नुपरेको बताए ।

मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्यांग्रा निकासी भएको हो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्यांग्रा बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले विशेषगरी गरी लेकाली जडीबुटी खाने भएकाले दशैं, तिहार जस्ता पर्वमा पोसिलो मासुको रूपमा माग बढी हुने गर्दछ ।

च्यांग्रालाई मासु खान योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्यांग्रापालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका प्रमुख शर्माले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको