विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै उक्त फैसला गरेको हो। अदालतले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन कार्यकारी निर्देशक पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद सजाय तोकेको छ। यससँगै उनले कुल ८ वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने भएको छ।
अदालतका अनुसार प्रतिवादीद्वयले तत्कालीन विनिमय दरअनुसार नेपाली ३ करोड ८ लाख ५० हजार ४०० बराबर हुने २ लाख ८० हजार अमेरिकी डलर घुस लिन–दिन सहमति जनाएको मिसिलमा संलग्न संवादलगायतका प्रमाणबाट पुष्टि भएको छ। यद्यपि, उक्त घुस रकम बरामद नभएको तथा रकम कहाँ राखिएको वा कुन बैंकमा जम्मा गरिएको भन्ने तथ्य वस्तुनिष्ठ रूपमा स्थापित हुन नसकेको अदालतले उल्लेख गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस