गृह मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस सङ्क्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा निषेध गरेको छ ।
कूूटनीतिक नियोग, अफिसियल र आपत्कालीन कामबाहेक अफ्रिकी मुलुकबाट आउने नागरिकको प्रवेशमा रोक लगाउन अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा नाकामा रहेका प्रशासन कार्यालयलाई आन्तरिक परिपत्र गरिएको छ ।
अध्यागमन विभागले पनि मन्त्रालयबाट प्राप्त निर्देशन आफू मातहत अध्यागमन कार्यालयलाई परिपत्र गरिसकेको जनाएको छ । अफ्रिका र युरोपलगायतका मुलुकमा देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट निकै घातक रहेको दाबी स्वास्थ्य विज्ञहरूको छ । त्यस्तै अफ्रिकी मुलुक हुँदै यात्रा गरेर नेपाल प्रवेश गर्ने अन्य देशका नागरिकमाथि समेत उच्च निगरानी राखी कोरोना परीक्षण रिपोर्ट, खोपको मात्रा र स्वास्थ्य अवस्थाका बारेमा आवश्यक विवरण सङ्कलन गर्नसमेत निर्देशन दिइएको छ ।
नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण जोखिम बढेसँगै विश्वका एक दर्जनभन्दा बढी देशले अन्य देशका नागरिकको प्रवेशमा रोक लगाउन थालेका छन् । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि छलफल गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस