Like us!
Follow us!
Connect us!
Watch us!

२५% बोनस घोषणा, बजार बढ्यो , पूँजी बजार विराेधीलाई 'नो भोट' अभियान चलाउँदै लगानीकर्ता (भिडियो)

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १६ : ४७ मा प्रकाशित

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन हामीले समाचारमार्फत् पनि पाठकहरूमाझ पुर्याउन सुरू गरेका छाैँ ।

आज (मंसिर २० गते, साेमबार) दिनभरका मुख्य आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. जनउत्थान लघुवित्तको लाभांश घोषणा, २५ प्रतिशत बोनस दिने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको मंसिर १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. महुली लघुवित्तकाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेको छ  । संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश राष्ट्र बैंकले स्विकृत गरेकाे हाे । अब उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. लाभांश पारित गर्न एचआईडिसीएलले डाक्याे साधारण सभा, पाैष ५ गते बुकक्लाेज

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे आज (मंसिर २० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पाैष २२ गते, बिहीबार कम्पनीकाे कार्यालय, हात्तीसार, काठमाडाैँ अभाैतिक रूपमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे कार्तिक १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ५ गते बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, पाैष ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. सेयर बजारमा राैनकता : नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि लगातार घटिरहेकाे बजार यस बीचमा जम्मा १ दिन ५.२८ अंकले बढेकाे थियाे । आज फेरि बजारले उकालाे यात्रा तय गरेकाे हाे । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका सबै उपसमूह बढेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेकाे छ । नेप्से १.२८ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.६३ अंकले बढेर ४८०.९८ विन्दुमा झरेकाे छ ।  कूल २२७ वटा कम्पनीकाे ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ । साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १५ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ५७ रूपैयाँ २० पैसा पुगेकाे छ । यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाले आजै मात्र लाभांश घाेषणा गरेकाे थियाे । संस्थाकाे लाभांशकाे नकारात्मक प्रभाव परेकाे छ ।

५. पूँजी बजार विराेधीलाई 'नो भोट' अभियान चलाउँदै लगानीकर्ता, आन्दोलनको तयारी हुँदै

विभिन्न लगानीकर्ताहरुले अहिलेको सरकार पूँजी बजार विरोधी भएको भन्दै पूँजी बजारका विरोधीहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा नो भोट अभियान सञ्चालन गरेका छन् । लगानीकर्ताहरूले सामाजिक सञ्जाल फेसबुकमा "पूँजीबजार बिरोधीहरुलाई आगामी चुनावमा नो भोट ! ४५ लाख लगानीकर्ताहरुको आवाज" भन्दै फोटोहरु आफ्नो वालमा सेयर गरिरहेका छन् । सरकार पूँजीबजारको विकास र विस्तारमा बाधक बनेको भन्दै लगानीकर्ताहरुको समूहले बृहत आन्दोलनको तयारी समेत सुरु गरेको छ । 

६. वाणिज्य बैंकहरूकाे निक्षेपमा सुधार, १४ अर्बले बढ्याे कर्जा प्रवाह

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे । मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ७ अर्बले बढेकाे हाे । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।  बैंकहरुको कर्जा लगानी १४ अर्ब रुपैयाँले बढेर ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेकाे छ । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसैगरी, यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.२४ प्रतिशत रहेको छ । 

७. सोमबार सुन चाँदी दुवैको मूल्य स्थिर

आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज पनि सुन प्रतिताेला ९२ हजार रुपैयाँ र चाँदी प्रतिताेला १ हजार २ सय रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको