Like us!
Follow us!
Connect us!
Watch us!

‘बजार बियरिस भएको होइन बरु बलियो सपोर्टको नजिक–नजिक छ’, विश्लेषक कडेँल

बसन्त पाण्डे

आइतबार, २६ मंसिर २०७८, १४ : ०८ मा प्रकाशित

‘बजार बियरिस भएको होइन बरु बलियो सपोर्टको नजिक–नजिक छ’, विश्लेषक कडेँल

सेयर बजारमा बुल साइकल सुरु भैसकेपछि बजारमा धेरै नयाँ लगानीकर्ताहरु प्रवेश गरे । बजार आफ्नो न्युनतम बिन्दुबाट करिब १८०% ले बढ्दै गर्दाको समयमा धेरै लगानीकर्ताहरुले कमाए पनि ! ३२२० भन्दा माथिको बिन्दु चुमेको बजार अहिले यो आलेख तयार गर्दासम्म करिब २४५० को हाराहारीमा छ।  बजार माथिल्लो बिन्दुबाट करीब ८०० अंकले खस्दै गर्दा धेरै लगानीकर्ताहरुले गुमाएका छन।  

यो सबै सेरोफेरोको बिचमा हामीले आजको यो अंकमा  सेयर बजारका समग्र पाटाहरु,  अबको बजारको यात्रा र लगानीकर्ताहरुले ध्यान पुर्याउनुपर्ने विषय जस्ता प्रसंगहरुमा लगानीकर्ताहरुले अत्यन्तै मन पराएका एक युवा व्यवसायी तथा प्राविधिक विश्लेषक बिपिन कंडेलसंग कुराकानी गरेका छौ ।  

विक्रम सम्बत २०४९ मा स्याङ्जामा जन्मिएका कंडेलले आफ्नो बाल्यकाल पाल्पाको रामपुरमा व्यतित गरे।  मेकानिकल  इञ्जिनियरिङ्ग गरेका बिपिन कंडेल एक युवा उद्यमी हुन्। काठमाण्डौको बानेश्वरमा रहेको मकैका विभिन्न परिकारहरु पाइने लोकप्रिय ’मकैघर’ का संस्थापक उनी रियल इस्टेटको कारोबार पनि गर्ने गर्दछन।  सानैदेखि प्रविधिप्रति आकर्षित कंडेललाइ सेयर बजारमा गरिने प्राविधिक विश्लेषणप्रति पनि रुचि लाग्यो र उनले कसरी सेयर बजारमा प्राविधिक विश्लेषण गरिँदो रहेछ भन्ने कुराको गहिरो अध्ध्ययन गरे। आफ्नो विश्लेषणले बजारमा मज्जाले काम गरेको अनुभव गरेका उनले बजारमा भर्खरै मात्र प्रवेश गरेका नयाँ लगानीकर्ताहरुको लागि आफ्नो विश्लेषण फलदायी हुन सक्ने अनुमान गरेर  ’बिपिन कंडेल’ नामको युट्युब च्यानलमार्फत नेप्से लगाएत विभिन्न कम्पनीहरुको विश्लेषण पस्किने गरेका छन। यो आलेख तयार गर्दासम्म उनको युट्युब च्यानललाइ करिब २८००० जनाले सब्स्क्राइब गरिसकेका छन्।  निशुल्क रुपमा प्राविधिक विश्लेषण सिकाउने उद्धेश्यले उनले आफ्नो युट्युब च्यानलमा बेसिक देखि एड्भान्स लेभलसम्मका कन्टेन्टहरु  रहेका भिडियोहरु राखेका छन। हाल ’सिकिन्छ’ नामक वेबसाइट मार्फत विशेषगरि साना लगानीकर्ताहरुलाई लक्षित सेवाहरु लिएर लगानीकर्ताहरु माझ आएका बिपिन कंडेलसंग गरिएको रोचक कुराकानी आजको यो शनिवार विशेष अंकमाः 

१) प्राविधिक विश्लेषण के हो? सामान्य लगानीकर्ताले बुझ्ने भाषामा बताइदिनुहोस न। 

 प्राविधिक विश्लेषण भन्नाले डेटाको एनालाइसिस हो। उदाहरणको लागनी दैनिक ,साप्ताहिक वा मासिक कारोबारको डेटालाइ हेरेर कुनै कम्पनीको सेयर त्यो अवधिमा न्युनतम कुन मूल्यमा बिक्रि भयो, अधिकतम कतिमा बिक्रि भयो, ओपनिङ्ग र क्लोजिंग कुन –कुन मूल्यमा भए जस्ता कुराहरुलाई एनालाइसिस गरेर आगामी दिनमा अब त्यो कम्पनीको मूल्य घट्ला वा बढ्ला त भन्ने कुराको अनुमान गर्ने काम नै प्राविधिक विश्लेषण हो।  

२) नेपालको सेयर बजारमा प्राविधिक विश्लेषणले काम गर्दैन भन्छन नि , कत्तिको काम गरेको पाउनुभएको छ ? 

यो कुन हिसाबमा भन्न खोज्नु भएको हो भन्ने कुराले अर्थ राख्छ।  व्यक्ति व्यक्तिले भन्ने कुरालाई समष्टिगत रुपमा भन्नु आवश्यक पनि नहोला।  एकदम सजिलो भाषामा भन्दा, के बुझ्नुपर्यो भने हामी आफैले गरेको कारोबारको रेकर्ड व्यवस्थित रुपमा राखेर त्यसलाई चार्ट÷ग्राफ बनाएर र अन्तराष्ट्रिय रुपमा सर्वस्वीकार्य इण्डिकेटरहरु प्रयोग गरेर गरिने विश्लेषणले काम नगर्ने भन्ने कुरा हुन्छ र ? यदि इन्डियाको सेयर मार्केटको डेटालाइ नेपालको मार्केटसंग कोरिलेट गर्न खोजियो भने त्यसले त पक्कै पनि काम गर्दैन।  वास्तविक कुरा चाहिँ के हो भने प्राविधिक विश्लेषणको अभ्यास केहि हप्ता, केहि महिना वा छोटो समयको लागि गरेर कोहि पनि प्राविधिक विश्लेषणमा पारङ्गत हुन सक्दैन।  धेरै लामो अभ्यास र लामो अनुभव पछि मात्र एउटा व्यक्ति लगभग एक्युरेट रिजल्ट निस्किने किसिमको विश्लेषण गर्न सक्ने बन्दछ।  त्यसैले बाहिर चिया गफ गर्दा गरिने कुरा जस्तो प्राविधिक विश्लेषणले काम नगर्ने होइन बरु चार्टमा देखिएको कुरालाई सहि रुपमा आइडेण्टिफाइड गर्न नसक्दा चाहिँ यस्ता कुराहरु आउने गर्दछन। 

३) सेयर बजारप्रति कसरी आकर्षित हुनुभयो ?  

खासमा के हो भने व्यापार, घर जग्गामा लगानी र सेयर बजारमा गरिने लगानीले नै हाम्रो सम्पत्तिलाई बढाउने काम गर्दछ।  विश्वमै त्यहि हो।  सेयर बजार त्यो मध्येको एउटा सेक्टर हो र प्रत्यक्ष रुपमा फाइनान्ससँग जोडिएको विषयवस्तु भएको हुँदा म सेयर बजारप्रति आकर्षित भएको हुँ।  अर्को कुरा राम्रो ज्ञान र अनुभव भएको खण्डमा राम्रो कमाइ गर्न सकिने क्षेत्र भएकाले पनि म यो क्षेत्रमा लागेको हुँ।  

४) सामाजिक संजालमा प्राविधिक विश्लेषण गर्नेहरुले आफ्नु अनुकुल विश्लेषण गर्ने, आफुले किनेर बसेको भए बढ्छ भन्ने, आफुले बेचेर बसेको भए घट्छ भन्ने गरेर बजार बिगारे भन्ने आलोचना हुने गर्दछ नि ? 

यदि कुनै व्यक्ति आफै लगानीकर्ता पनि हो र यदि उसले किनेर बसेको छ भने बढ्छ भन्छ र बेचेर बसेको छ भने त्यो व्यक्तिलाई विश्लेषक नै नभन्दा राम्रो होला।  तिनीहरुलाई त म  विज्ञापन गर्नेहरु भन्न रुचाउँछु। त्यस्ता व्यक्तिहरु पहिला आफुले किनेर अनि आफ्ना स्टकहरु अरुले किनिदिउन भन्ने हिसाबले विज्ञापन गर्ने गर्दछन। तिनीहरु विश्लेषक होइनन।  लगानीकर्ताहरुले त्यस्ता व्यक्तिहरु चिन्नु आवश्यक छ।  

५) सेयर बजारमा आउन चाहने नयाँ लगानीकर्ताहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

सेयर बजारमा नयाँ लगानी गर्दै हुनुहुन्छ भने जानेर, बुझेर मात्र लगानी गर्नुपर्यो। उदाहरणको  रुपमा यदि कुनै समान किन्नु पर्यो भने त्यो समान सबैभन्दा सस्तोमा कहाँ पाइन्छ, गुणस्तरीय कहाँ पाइन्छ भनेर कत्ति धेरै इन्फर्मेसन कलेक्सन गर्नुहुन्छ, त्यस्तै  कुनै ठाउँमा जग्गै किन्दै हुनुहुन्छ  भने  पनि सबै कुरा बुझेर मात्र लगानी गर्नुहुन्छ।  सेयर बजारमा पनि केहि नबुझी, नसिकी  आउनुहुन्छ भने त्यो त जुवा खेलेजस्तो भयो।  अरुको टिप्स÷जानकारीको आधारमा चल्नेगरी बजारमा नआउनुहोला। अरुको टिप्स र जानकारीलाई रिफरेन्सको रुपमा लिन सक्नुहुन्छ तर त्यो कत्तिको भ्यालिडेट छ भनेर चेक चाहिँ तपाईं आफैले गर्नुपर्यो।   यदि तपाइँ आफ्नो अध्ध्ययन, आफ्नो स्ट्रेटेजि अनुसार बजारमा आउनुहुन्छ भने सेयर बजार ब्युटिफुल क्षेत्र हो।  यसमा विद्यार्थीले केहि एक्स्ट्रा पैसा कमाउन सक्छन , गृहिणीले आफुलाई इण्डिपेण्डेण्ट बनाउन सक्छन, बिजिनेस गर्न चाहने हरुले फन्ड क्रिएट गर्न सक्छन, जागिर छोडेर बिजिनेस गर्न चाहनेहरुले जागिरबाट कमाउने पैसा यताबाट कमाउन सक्छन, रिटायर्ड हुन चाहनेहरुले आफ्नो रिटायरमेन्ट फन्ड जम्मा गर्न सक्दछन।  

बुँदागत रुपमा भन्नुपर्दा:

क) लगानी गर्नुपुर्व आफ्नो अध्ध्ययन र अनुसन्धानले ढुक्क भैसकेपछि मात्र लगानी गर्नुहोला , 

ख) सेयर किन्नु अघि नै कुन मूल्यमा किन्ने, कति समय होल्ड गर्ने, कुन मूल्यमा बेच्ने, स्टपलस गर्नुपरे कुन बिन्दुमा पुगेपछि गर्ने जस्ता कुराहरु पहिले नै निर्धारण गर्नुहोस।  

ग) बरु नाफा कम होस्, घाटा नहुने गरि कम रिस्क लिएर लगानी गर्नुहोला।  

घ) विशेषगरी  मैले के देखेको छु भने, बजारले अब यो ट्रेन्ड समाउदै छ भनेर चार्टमा देखिने  कुरा एउटा हुन्छ  तर  बाहिर आउने हल्लाहरु त्यसको विपरित भैरहेका हुन्छन।  त्यसमा लगानीकर्ताहरु फसिरहेको मैले पाएको छु।  चार्ट्ले बेच्ने संकेत गर्दा गर्दै पनि बजार बढ्ने किसिमको कुरा आउनेवाला छ जस्ता कुराहरु सुनेर नबेच्ने, चार्ट्ले बाइ सिग्नल दिँदा दिँदै पनि बजार अझ खस्दैछ भन्ने बजार हल्ला सुनेकै आधारमा किन्ने बेलामा बेच्न तिर लाग्ने लगानीकर्ता साथीहरु पनि धेरै हुनुहुन्छ।  तपाईले पहिला आफ्नो मनस्थितिलाई दरिलो बनाउनु पर्यो।  बाहिर हुने हल्लाहरुलाई इग्नोर गर्नुहोस।  तपाइको आफ्नो विश्लेषणमा विश्वास गर्नुहोस। 

६) बजार वियरिस ट्रेन्डमा गएको हो र ? बजारको अबको यात्रा कस्तो देख्नुहुन्छ ? 

बजार वियरिस भएको होइन।  अब बजार धेरै घट्ने ठाउँ छैन।  २३६० देखि २३८५ को बिचमा सपोर्ट लिएर अपवार्ड जोर्नी तिर लाग्न सक्छ।  बढ्दै जाने क्रममा २७०० देखि २७२० को लेभललाइ भोलुम सहित ब्रेक दिन सकेको खण्डमा बजारले यसअघिको अल टाइम हाइको बिन्दुलाई ब्रेक गरेर माथि जान सक्ने सम्भावना रहन्छ। 

७) आम लगानीकर्ता साथीहरुलाई के संदेश दिन चाहनुहुन्छ  ? 

बजार यति पुग्छ, उति पुग्छ भनेर कसैले प्रोजेक्ट गरेकै आधारमा बजारमा लगानी नगर्नुहोस।  सबैले गर्ने भनेको डेटाको विश्लेषण हो। तत्कालिन समय, आर्थिक ÷ राजनीतिक घटनाक्रम र परिदृश्यले सेयर बजारको यात्रामा प्रत्यक्ष÷ अप्रत्यक्ष रुपमा असर गर्ने गर्दछ। त्यसैले बजारको अहिलेको मुभमेन्टलाइ हेरेर  नै कारोबारको निर्णय लिनु नै बुद्धिमानी हुन सक्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको