केही दिन अघिसम्म लगानीकर्ताहरुले भेट्न खोज्दा समय नछुट्याएका अर्थमन्त्री जनार्दन शर्माले आज आफैँ सेयर लगानीकर्ता संगठनका नेताहरुलाई बोलाएर भेटवार्ता गरे।
भेटमा उनले लगानीकर्ताहरुले उठाएका मागहरु जायज रहेको र ती मागहरुका सम्बन्धमा आफू निकै सकारात्मक रहेको पनि बताए। ५८ बुँदे मागमा पुरा हुन बाँकी कुराहरु छिट्टै पुरा गर्ने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख नियुक्तीमा सिघ्रता गर्ने, सेयर धितोकर्जामा लगाईएको ४/१२ करोडको क्याप लगायतका कुराहरु सम्बोधन गर्न आफू तयार रहेको पनि अर्थमन्त्रीले सो भेटमा बताएको कुरा सो भेटमा संलग्न लगानीकर्ताका प्रतिनिधिहरुले बताएका छन् ।
यसअघि हिजै बिमा समितिको भवन उद्घाटन गर्दै उनले सेयरबजारमैत्री नीति ल्याउने घोषणा गरेका थिए । राम्रा राम्रा कम्पनीहरुमा छानी छानी लगानी गर्न आह्वान गरेका अर्थमन्त्रीको उक्त आह्वानलाई लगानीकर्ताहरुले पनि आज बजार ६% को सर्किट लाग्ने गरी बढाइदिएर स्वागत गरे। करिब ४ महिना अघि ३२२० भन्दा माथि रहेको बजार घट्दो चरणमा रहँदै गर्दा अर्थमन्त्रीकै पार्टीका अध्यक्ष प्रचण्डले सेयर बजार साम्राज्यवादको विस्तारित स्वरूप हो भन्ने अभिव्यक्ति दिएपछि उच्च अंकले घटेर नेप्से २२५५ सम्म झरेको थियो। प्रचण्डको उक्त अभिव्यक्तिको तिव्र आलोचना भएपछी उनले आफू सेयर बजारका साना लगानीकर्ताको संरक्षणको पक्षमा रहेको र आफू सेयर बजारप्रति नकारात्मक नरहेको भन्दै आफ्नो अभिव्यक्तिलाई सच्च्याएका छन् ।
यसरी आफ्नो पार्टी अध्यक्षको साथै आफ्नो समेत तिब्र आलोचना भएपछी अर्थमन्त्रीले आफ्नो सक्रियता बढाएका छन्। सेयर बजारमा देखिएका समस्याहरुलाइ कसरी समाधान गर्ने भनेर उनले आफ्ना सल्लाहकारहरुसँग राय सल्लाह समेत मागेको बुझिएको छ।
अर्थमन्त्री सेयर बजारको विकासको लागि सक्रिय हुँदै गर्दा लगानीकर्तामा समेत आत्मविश्वास बढेको छ। बजार घटेर एकदमै तल आएको अवस्थामा लगानीकर्तामा मनोबल बढ्दै जाँदा आगामी दिनमा बजार यात्रामथितिरकै रहने विश्लेषण बजार जानकारहरुले गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस