नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले स्थायी कर्मचारी संख्या आधा घटाएर सेवा करार प्रणालीमार्फत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै शर्माले वर्तमान कर्मचारी संरचना खर्चिलो र परिणामविहीन भएको टिप्पणी गर्दै त्यसको पुनःसंरचना आवश्यक रहेको बताए।
उनले भने, 'अब साधारण खर्च हामीले धान्न सक्ने अवस्थामा छैनौं। अहिलेको भरीभराउ कर्मचारी संरचना आधा कटौती गर्नुपर्छ भन्ने धारणा मेरो छ। यो विधेयकले पनि त्यसतर्फ सम्बोधन गर्नुपर्छ। स्थायीत्वभन्दा पनि परिणाममुखी काम हुने खालको सेवा करार प्रणालीमा जानुपर्छ।'
पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित हुँदाहुँदै पनि व्यवहारमा देश टेबल–टेबलका कर्मचारीमार्फत चलेको आरोपसमेत लगाए।
उनले थपे, 'प्रधानमन्त्री कार्यकारी प्रमुख हुन्। तर, अहिलेको अवस्थाले देखाउँछ – देशमा शासन टेबल–टेबलमा चलिरहेको छ। यसले प्रधानमन्त्रीको भूमिका कमजोर बनाउँछ। यसलाई अन्त्य गरेर कार्यकारी प्रमुखबाटै शासन सुनिश्चित गर्नुपर्छ भन्ने कुरा म विगतदेखि उठाउँदै आएको छु।'
शर्माले सरकारी संयन्त्रलाई परिणाममुखी, जिम्मेवार र खर्चमैत्री बनाउने दिशामा नीति पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस