नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले खोलाको लाइसेन्स एकै व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न माग गरेका छन्।
काठमाडौंमा आयोजित इप्पानको २३औं वार्षिक साधारण सभामा बोल्दै उनले ऊर्जा क्षेत्रको विकास अभावले न केवल आम नेपालीको लगानी डुब्ने, तर जनताको सपना समेत अधुरो रहने चेतावनी दिए।
उनले लगानी गर्न सक्ने क्षमतावान कम्पनी वा व्यक्तिलाई मात्र खोलाको लाइसेन्स दिनु पर्नेमा जोड दिँदै भने, 'योजना बनाउन सक्ने हैसियत नभएका केही व्यक्तिहरूले थुप्रै परियोजनाका लाइसेन्स कब्जा गरेका छन्, जसले गर्दा इच्छुक लगानीकर्ता योजना नै पाउन सकिरहेका छैनन्।'
शर्माले आफू ऊर्जा मन्त्री रहँदा खोलाको लाइसेन्स किनबेच रोक्न पहल गरेको स्मरण गर्दै भने, 'त्यसबेला धेरै योजना फिर्ता ल्याइएको थियो। तर अहिले पनि दर्जनौँ परियोजनाहरू केही विशेष कम्पनी वा व्यक्तिको नाममा रोकिएका छन्। यो प्रवृत्तिको अन्त्य गरिनुपर्छ।'
उनले सरकारलाई सुझाव दिँदै भने, 'एउटा कम्पनीले कुनै आयोजना विकास गरिरहेको छ भने त्यसबाहेकका अन्य परियोजनाको लाइसेन्स खारेज गर्नुस्। नत्र ऊर्जा विकास रोकिनेछ।' शर्माले विद्युत् उत्पादन मात्रै होइन, खपतमा जोड दिनुपर्ने धारणा पनि राखे। उनले भने, 'विद्युत् किनेर मात्र देश समृद्ध हुँदैन, त्यसको उपयोग गरेर मात्रै समृद्धि सम्भव छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस