Like us!
Follow us!
Connect us!
Watch us!

चिसोले जम्न थाले मनाङका खोला र ताल

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, ०८ : ५९ मा प्रकाशित

चिसोले जम्न थाले मनाङका खोला र ताल

हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि खोलानालासहित हिमताल जम्न थालेका छन् ।

मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए ।उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् । 

चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् ।

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

मनाङमा मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्राय: जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ ।

चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनूभव लिने गरेका छन् । मनाङका ताल हेर्न पर्यटक आउँछन् ।

हिमताल भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको