Like us!
Follow us!
Connect us!
Watch us!

अलटाइम हाईमा बजार प्रवेश गरेका लगानीकर्ता भन्छन् "अब इन्डेक्स ३२ सय कटेसी रमाउँला !"

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १२ : ५९ मा प्रकाशित

अलटाइम हाईमा बजार प्रवेश गरेका लगानीकर्ता भन्छन् "अब इन्डेक्स ३२ सय कटेसी रमाउँला !"

पछिल्लो समय नेपालमा चर्चित गित हो 'सुन साइँली' उक्त गितमा समावेश गरिएको एक शब्द 'चालिस कटेसी रमाउँला' अहिले पनि नेपाली समाजमा एकदमै चलनचल्तीमा पाइन्छ । एक युवक जो युवा अवस्थामा आफ्नो परिवारको आर्थिक आवश्यकताहरु परिपुर्ती गर्न विदेसीनु पर्दा आफ्नी श्रीमतीलाई उमेरमा रमाइलो गर्न नसके पनि चालिस काटेपछि भने विदेशबाट फर्किए पछिसँगै रमाइलो गरौँला भन्ने सन्देश गितले दिन खोजेको छ । 

पछिल्लो समय नेप्से परिसूचक ३२ सयको विन्दुमा हुँदा सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुले पनि अहिले भन्ने गरेका छन् '३२ सय कटेपछि रमाउँला' । ३२ सय भन्दा केहि अंकमाथि पुगेर अहिलेसम्म कै उच्च विन्दुको रेकर्ड कायम गरेको नेप्से परिसूचक अहिले घटेर करिब २६ सयको आसपासमा छ । ३२ सयबाट निरन्तर घटेर करिब २३ सयको विन्दुमा पुगेको नेप्से मौद्रिक नीतिको पहिलो समिक्षा अघि केही बढेर २८ सयको विन्दुमा पुगेको थियो भने पहिलो समिक्षा पछि पुनः बजार निरन्तर घटेर २२ सयको आसपासमा नेप्से पुगेको थियो । अघिल्लो साताको अन्तिम ३ दिन र यो साताको पहिलो दिन आईतबार केहि वृद्धि भएकोले अहिले नेप्से करिब २५ सयको आसपासमा नै छ । 

"करिब ३२ सयको इन्डेक्स हुँदा बजारमा प्रवेश गरेको थिए, अहिले पनि कहिले काँही आफ्ना कम्पनीमा सकारात्मक सर्किट पनि लाग्छ तर के गर्नु सर्किट लाग्दा पनि रमाउन सकिने अवस्था छैन अहिले पनि कतिपय कम्पनीहरुको सेयर मूल्य किनेको भन्दा करिब करिब ५० प्रतिशतले कम छ सबैले 'होल्ड इज गोल्ड' भने होला त भनेर 'होल्ड' गरेको अहिले त 'गोल्ड नै होल्ड गर्दा गर्दा सिल्भर बनिसक्यो' अब कुन दिन 'फलाम' नै बन्छ कि भन्ने डर भइसक्यो ।

बजारमा लगानी गर्नेले नाफा मात्र होइन सही समयमा घाटा पनि बुक गर्न जान्नु पर्ने रहेछ भन्ने ज्ञान मलाई अहिले प्राप्त भएको छ म जस्ता लगानीकर्ताहरु त अब बजार बढ्दा पनि धेरै रमाउन सक्ने अवस्था छैन आज यतिले बढ्यो भनेर रमाउन नपाँउदै भोलि कतिले घट्ने हो भन्ने तनाव सुरु हुन्छ अब हामी रमाउने त इन्डेक्स ३२०० कटेपछि मात्र हो" एक लगानीकर्ताले भने । 

अर्का एक लगानीकर्ताको पिडा पनि फरक भने छैन । उनले बजार करिब ३००० को विन्दुमा हुँदा भएभरको रकम सेयर बजारमै खन्याए, बजार बढेर ३२०० को बिन्दुमा पुग्दा उनले लगानीको करिब करिब ३० प्रतिशत कमाएका पनि थिए मान्छेको लोभ नै हो उनले त्यो समयमा नाफा बुक गर्नुको सट्टा झनै अरुसँग पैसा सापटी खोजेर पुनः बजारमा नै लगानी थपे तर ३२ सयको इन्डेक्स त्यहाँबाट बढ्न सकेन बजार विभिन्न कारणले निरन्तर ओरालो लाग्यो अहिले उनको पोर्टफोलियो करिब ३० प्रतिशत घाटामा छ तर पनि उनी आत्तिएका भने छैनन् । 

"सापट लिएको पैसा जसो तसो म्यानेज गरेर तिरे अब केहि तनाव छैन, बजार आजै नबढेपनि कहिले न कहिले त बढ्ला नि यो नोक्सानी केहि लाखको भएपनि बजारले मलाई करोडौँको ज्ञान दिएको छ , नाफा र घाटा दुवै समयमा नै बुक गर्नसके नै राम्रो हुने रैछ अनि अरुको हल्ला र यति उति पुग्दैछ भन्नेहरुको पछि लाग्दा कहिले काँही कमाउन सके पनि एक न एक दिन टोपि लाइने नै रहेँछ अब सेयरमा कसरी लगानी गर्ने भन्ने कुरा केहि हदसम्म बुझे जस्तो लागेको छ" उनले भने । 

पछिल्लो समय नेपालको पूँजी बजारले नयाँ-नयाँ रेकर्ड कायम गरेको थियो उक्त अवधिमा नेप्से परिसूचक सर्वाधिक उच्च विन्दुमा पुग्नुको साथै दैनिक कारोबार रकममा समेत नयाँ-नयाँ रेकर्डहरू बनिरहेका थिए जसका कारण नेपालको पूँजीबजारमा नयाँ-नयाँ लगानीकर्ताहरुको आकर्षण बढिरहेको थियो ।

केहि समय अघिसम्म पनि सेयर बजार भने पछि नाक खुम्च्याउने मानिसहरु सेयर बजारका बारेमा चाख लिएर कुरा गर्ने र सक्रिय रुपमा बजारमा लगानी गर्ने वातावरण र्सिजना भएको थियो तर अहिले भने त्यो अवस्था केहि परिवर्तन भएको छ नियामकहरुको बजारप्रतिको उदासिनताले अहिले धेरै सेयर लगानीकर्ताहरु बजारबाट पलायन हुने अवस्था र्सिजना भएको छ नयाँ लगानीकर्ताहरु समेत अहिले दोस्रो बजार प्रवेश गर्न डराइरहेको देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको