Like us!
Follow us!
Connect us!
Watch us!

हिउँमा फसेका बाबुछोरा पाँच दिनदेखि उद्धारको पर्खाइमा

अर्थ संसार

सोमबार, १९ पुस २०७८, १० : ०५ मा प्रकाशित

हिउँमा फसेका बाबुछोरा पाँच दिनदेखि उद्धारको पर्खाइमा

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन।

आइतबार बिहान दुई पटक अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार भएन।

करिब ५५ वर्षका लाक्पा टासी र उनका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फसेका थिए।

‘चौँरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ, हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार उद्धार गर्न लाक्पाले आग्रह गरेका थिए।

वडाअध्यक्ष डण्डु शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए।

समुद्री सतहबाट चार हजार मिटर उचाइमा रहेको पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका हुन्।

गत शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो। तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो।

फेरि आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

फोन सम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए। धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकप्टरमार्फत उद्धार गर्ने पाण्डेले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको