Like us!
Follow us!
Connect us!
Watch us!

त्रिविमा पढाइ बन्द, परीक्षा रोकिन्न

पत्रपत्रिका

आइतबार, ०२ माघ २०७८, ०७ : ३३ मा प्रकाशित

त्रिविमा पढाइ बन्द, परीक्षा रोकिन्न

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढिरहेको छ । त्रिविमा पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षालाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको छ ।

त्रिविले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ । तेस्रो वर्षको परीक्षा माघ अन्तिम साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ । वार्षिक शैक्षिक कार्यतालिका प्रभावित नहोस् भनेर परीक्षालाई सुचारु गर्न लागिएको त्रिविले जनाएको छ । भौतिक उपस्थितिमा पढाइ रोकिए पनि परीक्षाको मिति नजिकिएका विषयको पठनपाठन अनलाइन माध्यमबाटै सञ्चालन गरिनेछ । त्रिवि सभा तथा कार्यकारी परिषद्का कार्यालय प्रमुख सूर्यप्रसाद अधिकारीले कोरोना सङ्क्रमण दर न्यून रहेका र भौतिक उपस्थितिमै पढाउन सकिने अवस्था रहेका क्याम्पसले स्थानीय तहसँग समन्वय गरेर सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सक्ने जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगात्मक कक्षाहरू भने कोरोना सङ्क्रमण नियन्त्रणका लागि पूर्वसावधानी अपनाउँदै भौतिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने त्रिविले जनाएको छ ।

यसरी पढ्नुपर्ने र पढाउनुपर्ने सबै शिक्षक तथा विद्यार्थीको इमेल ठेगाना तुरुन्त बनाउन सबै क्याम्पस तथा विभागलाई कार्यकारी परिषद्ले निर्देशन दिएको छ । बिदाको समयमा कोरोना सङ्क्रमणबारे पूर्वतयारी तथा सचेतना अवलम्बन गर्न त्रिविले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ ।

पढाइ बन्द रहे पनि छात्राबास खुलै रहनेछन् तर सरकारी निर्णयको पूर्ण पालना गरेर मात्रै छात्राबास सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ । बन्द रहेको समयलाई हिउँदे बिदामा मिलान गरिने छ । कोरोना सङ्क्रमण बढ्न थालेसँगै त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश क्याम्पसले अनलाइन माध्यमबाटै पढाइ सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । केही क्याम्पसले हिउँदे बिदा दिएका छन् ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको