जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा लगानीकर्ताकाे ओइरो लागेकाे छ । पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे संस्थाकाे आईपीओमा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका रामहरी खत्रीले दिएका जानकारी अनुसार आइतबार दिउँसाे ४:१५ बजेसम्ममा १७ लाख ३३ हजार ९ सय ७० जना आवेदकलेले २ करोड १४ लाख ८९ हजार ९ सय कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेराे सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।
संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस