Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिकको आईपीओबाट बैंकहरूको कमाई ३ करोड बढी, निशुल्क दिनेले पनि धमाधम शुल्क तोक्दै !

अर्थ संसार

बुधबार, ०४ फागुन २०७८, ११ : ४५ मा प्रकाशित

जाल्पा सामुदायिकको आईपीओबाट बैंकहरूको कमाई ३ करोड बढी, निशुल्क दिनेले पनि धमाधम शुल्क तोक्दै !

पछिल्लाे समय नेपालमा साधारण सेयर (आईपीओ) प्रति सर्वसाधारणहरूकाे क्रेज बढ्दै गइरहेकाे छ । कुनैपनी कम्पनीले आईपीओ निष्कासन गर्दा लगानीकर्ताहरू झुम्मिने गरेका छन् । दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपीओप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेको अनुमान लगाउन सकिन्छ । आईपीओमा आवेदन दिँदा आवश्यक पर्ने कुराहरूमध्ये एक हाे सी-आस्वा । आज हामी यहाँ साेही सी-आस्वाकाे कुरा गर्न गइरहेका छाैँ ।

आजकाल प्रविधिकाे युगमा अधिकांश लगानीकर्ताहरूले अनलाइन अर्थात् मेराे सेयरबाट आईपीओ भरिरहेका हुन्छन् । आईपीओ भर्ने सजिलाे माध्यम भनेकाे मेरो सेयर हाे । मेरो सेयरबाट आईपीओ आवेदन दिन सकिन्छ र त्यसकाे शुल्कहरूकाे काम भने बैंकमार्फत् हुने गर्दछ ।  सी-आस्वाले मेराे सेयर र बैंक खातालाई जाेड्ने काम गर्दछ ।

सीआस्वा सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा भने लगानीकर्ताहरूको गुनासो रहेको छ । लगानीकर्ताहरूले साधारण सेयर (आईपीओ) भर्दा केही बैंकहरूले निशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले भने सी-आस्वाकाे नाममा मनपरी शुल्क लिइरहेका हुन्छन् ।

अहिले नेपालमा जम्मा ४ वटा वाणिज्य बैंकहरूले  मात्र निशुल्क सी-आस्वा सेवा प्रदान गर्छन् । ती हुन् एनआईसी एशिया बैंक, नबिल बैंक, मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंक । यसअघि नि:शुल्क सी-आस्वा सेवा प्रदान गर्दै आइरहेका बैंकहरूले पनि अब धमाधम शुल्क ताेक्न थालेका छन् । केही समयअघि मात्रै सानिमा बैंक र सेञ्चुरी बैंकले पनि  सी-आस्वा सेवाकाे शुल्क ताेकेका थिए । आज मात्रै फेरि ग्लोबल आइएमई बैंक लिमिटेडले पनि फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरेकाे छ ।

अबदेखि ग्लोबल आइएमई बैंकले पनि सिआस्वा शुल्क लिने

कानुनमा के छ ?

धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ मा बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा एक सय रुपैयाँ र सो भन्दा बढी रकमको दरखास्तमा बढीमा २ सय ५० रुपैयाँ सेवा शुल्क लिन सक्ने प्रावधान रहेकाे छ ।

कुनै बैंकले निशुल्क प्रदान गर्ने र कुनै बैंकले १०० रूपैयाँसम्म शुल्क लिनु लगानीकर्ताहरूका लागि जायज नभएकाे लगानीकर्ताकाे गुनासाे छ । 

एक उदाहरण :

हालै मात्र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे थियाे । संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएका थिए । जसमध्ये, २५ लाख ८७ हजार ४ सय १२ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ४८ हजार ७ सय ९० जनाले सेयर हात पारेका थिए ।

संस्थाकाे यही तथ्यांकबाट हेर्ने हाे भने पनि बैंकहरूले जाल्पा सामुदायिक लघुवित्तको आईपीओबाट मात्रै ३ कराेड ८० लाख भन्दा धेरै शुल्क बटुलेका छन् । संस्थाकाे आईपीओमा २५ लाख ८७ हजार ४ सय १२ जना याेग्य आवेदक थिए उक्त संख्यालाई सेयर हात पार्ने ४८ हजार ७ सय ९० जना घटाउँदा २५ लाख ३८ हजार ६ सय २२ जना रहन्छन् । बैंकहरूले लिने सीआस्वा सेवा बापतकाे शुल्क औषतमा १५ रूपैयाँकाे दरले मात्रै हिसाब गर्दा पनि याे एउटा आईपीओबाट बैंकहरूले सीआस्वा सेवा बापत ३ कराेड ८० लाख ७९ हजार रूपैयाँ भन्दा बढी रकम संकलन गरेका छन् ।

अहिले आवेदन दिने लगानीकर्ताहरुको संख्या बढेसँगै आईपीओ पाउन भाग्य कै भर पर्नुपर्ने अवस्थामा आईपीओ नपरे पनि सी-आस्वा शुल्कमै राम्रो रकम तिर्नुपर्ने अवस्था देखिन्छ । बैंकहरूकाे सी-आस्वा शुल्क तिर्दा तिर्दा आईपीओ नपरेका लगानीकर्ताहरू आजित भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको