Like us!
Follow us!
Connect us!
Watch us!

चक्रपथमा बिहान र बेलुका टिप्पर सञ्चालनमा रोक

मंगलबार, २७ असार २०७४, १६ : ४७ मा प्रकाशित

चक्रपथमा बिहान र बेलुका टिप्पर सञ्चालनमा रोक

अर्थ संसार, काठमाडौँ– सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाएको बताउनुहुन्छ ।

प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा सवारी चाप बढेको भन्दै सवारी चापलाई कम गर्न उक्त निर्णय गरेको बताउनुहुन्छ ।

मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५०० को हाराहारीमा सवारीसाधन सञ्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक छ हजार ५०० को हाराहारीमा सञ्चालन हुने महाशाखाको तथ्याङ्क छ ।    

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे सबै नाकाबाट काठमाडौँ भित्रिने ट्रक, टिप्पर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताउनुहुन्छ ।

ट्रक तथा टिप्पर व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ जनताको सुविधाका लागि आफूहरुले ट्रक सञ्चालनमा रोक लगाउन लागेको स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले दैनिक एक सय ट्रक रोक्दा जनताले सुविधा पाउँछन् भने हामी रोक्छौँ ।” महासङ्घले काठमाडौँमा ट्रक तथा टिप्पर पार्किङ नहुँदा समस्या परेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको