Like us!
Follow us!
Connect us!
Watch us!

वारेन बफेट र राकेश झुनझुनवालाका सेयर टिप्स जसले तपाईँलाई पनि बनाउन सक्छ करोडपति

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १३ : ४५ मा प्रकाशित

वारेन बफेट र राकेश झुनझुनवालाका सेयर टिप्स जसले तपाईँलाई पनि बनाउन सक्छ करोडपति

ज्ञान प्राप्तिका लागि अनुभव अत्यन्तै राम्राे श्राेत हाे । आफ्नै होस् या अन्य श्रोतको होस् अनुभव सँधै उपयोगी हुने गर्दछ । हामी सबैलाई पैसा कमाउने चाहाना हुन्छ । मानिसहरूले पैसा कमाउन विभिन्न माध्यमहरू रोज्ने गर्दछन् । पैसाले पैसा कमाउने एक माध्यम हो सेयर बजार । सेयर बजारमा लगानी गर्न पनि पैसा मात्र भएर पुग्दैन । पैसालाई सही ठाउँमा लगानी गर्न उपयुक्त ज्ञान पनि हुनु पर्दछ ।

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरू थपिने क्रम बढिरहेको छ । राम्रो अनुभव र ज्ञान नभइकनै लगानी गर्दा आफ्नो लगानी गुमेको गुनासाहरू पनि हामीले प्राय सुनिरहेका हुन्छौँ । त्यसैले, हरेक लगानीकर्ताहरूले लगानी गर्नुअगावै राम्ररी अध्ययन र अनुसन्धान गर्नुपर्छ । अनि ठूला लगानीकर्ताहरूको अनुभवबाट पनि लगानी गर्न टिप्स लिन सकिन्छ । आज हामी तीनै २ जना लगानीकर्ताको सेयर टिप्सको बारेमा कुरा गर्नेछौँ जो हजारौँ लगानीकर्ताहरूको मार्गदर्शक बनेका छन् ।

वारेन बफेट

वारेन बफेट एक अमेरिकी अर्बपती, लगानीकर्ता तथा लोक परोपकारी हुन् । उनलाई सेयर बजारका बादशाह पनि भनिन्छ । उनी सेयर बजारका विश्वकै सफल र धनी मानिस मानिन्छन् । बफेटले सन् १९४१ मा पहिलोपटक सेयर खरिद गरेका थिए । उनले ३८ डलरमा उक्त सेयर किनेका थिए जुन ३० प्रतिशत सम्म घट्यो । पछि सो सेयर उनले ४० डलरमा बेचे । तर, उनले बेचेको उक्त सेयर केहि महिनामा नै २०० डलरसम्म पुग्यो । आफ्नो सम्पत्तिको ८० प्रतिशत एक सामाजिक सङ्गठनलाई दान दिएर वारेन बफेट अमेरिकी इतिहासमै यति ठूलो धनी राशी दान गर्ने पहिलो व्यक्ति भएका छन् ।

सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेश भईसकेका थिए। उक्त समयमा बाफेटको कम्पनी बाफेट पार्टनरसिप लिमिटेडको पूँजी ७ करोड १७ लाख अमेरिकी डलर पुगिसकेको थियो भने त्यसमा अधिकांश हिस्सा उनको थियो। त्यसपछि बफेटको जीवनमा बर्कशायर ह्याथवेले प्रवेश पायो। उनले उक्त कम्पनीको सेयर खरीद गर्न थाले र सन १९६५ मा उक्त कम्पनीको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिन सफल भए । बर्कशायरका मालिक बन्दा उनको उमेर जम्मा ३५ वर्ष थियो।

त्यसपछि सन १९७९ मा वाफेट पहिलोपटक फोर्ब्सको अर्बपति सुचीमा नाम अंकित गरे। १९८८ मा, बफेटले कोकाकोला कम्पनीको सेयर खरिद गर्न सुरु गरे, र अन्ततः कम्पनीको ७% सेयर $१.०२ अर्ब मा खरिद गरे। यो वर्कसायर को एक नाफा दिने लगानी सिद्ध भयो जुन अझै सम्म राखिरहेको छ । वारेनले अमरिकाको कोकाकोला, वेल्स फार्गो एन्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एन्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठूला कम्पनीमा धेरै लगानी गर्ने गर्थे।

वारेन बफेटकाे ५ वटा सेयर टिप्स यस प्रकारका छन् :

१. अरू लोभी हुँदा डराउनुहोस् । अरू डराउँदा लोभी हुनुहोस् ।

२. राम्रा कम्पनी छान्नुहोस्, सेयरमूल्य घट्दा किन्नुहोस् ।

३. मौका अचानक पनि आउँछ, आएको मौकालाई भरपुर प्रयोग गर्नुहोस् ।

४. तपाईँले बुझ्नुहुने कुरामा लगानी गर्नुहोस् ।

५. नगदबाट बाहिर निस्किनुहोस् र सम्पत्तिमा जानुहोस् ।

राकेश झुनझुनवाला

राकेश झुनझुनवाला भारतीय सेयर बजारका सबैभन्दा प्रसिद्ध खेलाडीका रुपमा चिनिन्छन् । झुनझुनवाला सेयर बजार प्रवेश गर्नुकाे मुख्य प्रेरणा थिए उनका बुबा ।  उनका बुबाले साथीभाइ र परिवारबाट ऋण लिनुको सट्टा आफ्नै पैसा लगानी गर्न भने र व्यावसायिक योग्यता पनि हासिल गर्न निर्देशन दिएपछि उनले चार्टर्ड एकाउन्टेन्सीमा डिग्री हासिल गर्ने निर्णय गरे। सन् १९८५ मा आफ्नो सीए पूरा गरेपछि जब बम्बे स्टक एक्सचेन्ज सूचकांक १५० मा थियो उनले पहिलो पटक मात्र ५ हजार रुपैयाँमा लगानी गरे । ५ हजार रुपैयाँ लिएर सेयर बजारमा प्रवेश गरेका उनी हाल भारतको स्टक मार्केटका सबैभन्दा ठूला लगानीकर्ता बन्न सफल भएका छन् ।

राकेश झुनझुनवालाको ५ लगानी टिप्स यस प्रकारका छन् :

१. लगानी गर्ने समयमा आफैँप्रति बढी भरोसा गर्नुहोस् ।

२. साना सेयरलाई नजरअन्दाज गर्ने गल्ती कहिल्यै नगर्नुहोस् ।

३. मन्दीको समयमा पोर्टफोलियोमा सबैभन्दा बढी ध्यान दिनुहोस् ।

४. सेयरलाई कम मुनाफामा बिक्री गर्न हतार नगर्नुहोस् ।

५. आफ्नो लगानीलाई विविधकरण गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको