Like us!
Follow us!
Connect us!
Watch us!

सडक निर्माणमा ठेकेदारको चरम लापरवाही

बुधबार, २८ असार २०७४, १३ : ५६ मा प्रकाशित

सडक निर्माणमा ठेकेदारको चरम लापरवाही

अर्थ संसार, चितवन– पुर्वपश्चिम राजमार्ग अन्तरगत चितवन स्थित रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा निर्माणाधिन चारलेनको नमूना सडक निर्माणमा चरम लापरबाही भएको छ ।

सडकको निर्माण नसकिंदै बीच मै दबिने, अलकत्रा सोहोरिएर ठुला–ठुला ढिस्का बन्ने र भत्किने समस्या देखिएपछि स्थानियहरु आक्रोसित भएका छन् ।

जसका कारण निर्माण नसकिंदै मर्मतको काम शुरु भएको छ । एकचरणको मर्मत सकिंदा समेत ढिस्को उठ्ने र दविने क्रम रोकिएको छैन । बरु मर्मत गरेकै स्थानमा पुनः भत्किनेक्रम शुरु भएको छ । नयाँ सडक पुरानो भनदा कमजोर बनेको छ ।

राजमार्गको गुणस्तरको सडक निर्माण नभएको बताउँदै सो सडकको अनुगमन समितिका संयोजक समेत रहनुभएका साँसद शेषनाथ अधिकारी ठेकेदारको लापरबाही भएको दावी गर्नुहुन्छ ।

उहाँले तत्कालै राजमार्गमा चाहिने गुणस्तरको सडक निर्माण गर्न आफुले भनेको समेत बताउनुभयो । ठेकेदारले भने डिजाईनमै त्रुटि भएको दावी गर्दै आएको छ ।

पुर्व पश्चिम राजमार्गमा पर्ने चितवनको रत्ननगर बजार क्षेत्रमा ग्रिनरी सहितको नमूना सडक निर्माण थालिएको २ बर्ष भयो ।

म्याद एकबर्ष थपिंदा पनि अहिलेसम्म काम ६५ प्रतिशत पनि काम भएको छैन । रत्ननगरबजार क्षेत्रको भानुचोकदेखि लौरीघोलसम्म २.३ किलोमिटर क्षेत्रको सडक स्तरोन्नती गरी ४ लेनको बनाउन थालिएको हो ।

अहिले सडकको तलो भागमा २ लेनको सडक कालोपत्रे भएको ३ महिना भयो । तीन महिना मै सडकमा ठुला ठुला खाल्डा देखिएको छ भने ढिस्को उठेर दुर्घटनाको जोखिम भएको छ ।

सडकको तह समेत मिलेको छैन । सडकसँगै बनाईएको ढल समेत दबिएर भत्किने समस्या देखिएको छ । कंक्रिटबाट निर्माण हुनुपर्ने ढल सबै ढुंगा हालेर बनाईएको स्थानिय रामशरण कुँवर दावी गर्नुहुन्छ ।

‘यो सबैभन्दा ठुलो लापरबाही हो, प्राविधिक कुरा हामीलाई के थाहा, सडकको एक भागको अनुगमन हेर्ने जिम्मा लिनुभएका रामशरण कुँवरले भन्नुभयो, समस्या देखिएपछि आफुहरुले पटकपटक भन्दा समेत सुनुवाई भएन ।’

सम्झौता अनुसार मुख्य सडक चार लेनको हुने छ । छुट्टै सर्भिस लेन पनि बनाईने छ । यस्तै ग्रिनरी, रोड डिभाईडर तथा फुटपाथ र ढल निकासका पुर्वाधार समेत निर्माण गरिने सम्झौंतामा उल्लेख छ ।

तर सडकको एक पाखो निर्माण नसकिंदै समस्या आएपछि स्थानियहरु प्रभावित भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १ का स्थानिय रामकृष्ण तिमिल्सिना कछुवागतिमा निर्माण चलिरहेको सडक बनाउँदै र  भत्किदै गएको बताउनुहुन्छ ।

‘एकदम कमजोर बनाईएको छ, ढल र सडकसमेत दबिएको छ, कालोपत्रे डल्लो परेको छ, सडकको वीचमै पानी जम्छ, यसलाई के भन्ने,’ तिमिल्सिनाले दुखेसो गर्नुभयो ।

करिव रु ४० करोडको आयोजना भएपनि हाल पहिलो चरणमा ४ लेन तथा डिभाईडर सहित ढल निर्माण गर्ने गरी १९ करोड ७० लाखमा २०७२ असारमा ठेक्का सम्झौता भएको थियो ।

श्रेष्ठ कन्स्ट्रक्सन हेटौडाले सडकको स्तरोन्नतिका लागि निर्माणको जिम्मा लिएको हो । नारायणगढ मुग्लिन सडकको जुगेडी खण्डमा समेत सोही कम्पनीले काम गरिरहेको छ । उक्त कन्ट्रक्सनका परियोजना व्यवस्थापक अनिश रेग्मी सम्झौता अनुसार नै काम गरेको बताउनुहुन्छ ।

एकतर्फी रुपमा र ठुला सवारी चल्दा सडक दविने र कालोपत्रे सोहोरिएर ढिस्को बनेको उहाँ बताउनुहुन्छ । उहाँले समस्या आउनुमा निर्माण कम्पनीको दोष नभई सम्झौता कै बेलाको डिजाईन कमजोर भएकाकारण समस्या भएको दावी गर्नुहुन्छ ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख धर्मेन्द्रकुमार झा उक्त सडक मुग्लिन नारायणगढ कै गुणस्तरको बनाउनुपर्नेमा त्यो हुन नसक्दा भारी गाडीले कालोपत्रे सोहोरिएको बताउनुहुन्छ । ‘

एकातर्फ ठेकेदारले हालेको मेटेरियल क्वालीटीमा समस्या छ, अर्काेतर्फ डिजाईन नै राम्रो हुन सकेन, झाले भन्नुभयो, अब सोहोरिएर बनेको ढिस्को काट्ने फाल्ने अनि पुनपिच गर्नै भन्दै अरु उपाए छैन ।’

स्थानिय निकाय र उपभोक्ताको साझेदारीमा नेपाल सरकारको बजेटमा सडक निर्माण थालिएको हो ।

सोही क्षेत्रका साँसद शेषनाथ अधिकारी यसको अनुगमन समितिका संयोजक हुनुहुन्छ । समितिले पनि खासै काम गर्न नसकेको स्थानियहरु गुनासो गर्छन् । यती ठुलो समस्या हुँदा समिति कहाँ गयो उनीहरु प्रतिप्रश्न छ ।

सम्झौताअनुसार २०७३ साल असोजमा निर्माण सक्ने गरी जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनले निर्माण नसकेपछि एक बर्षका लागि थपिएको म्याद समेत आगामी असोजमा सकिंदै छ । असोजमा पनि निर्माण सकिने कुनै लक्षण छैन । अहिलेसम्म निर्माण क्षेत्रमा पर्ने पोलहरु हटेका छैनन् ।

‘साईड क्लीएर भएको छैन, परियोजना व्यवस्थापनक अनिश रेग्मीले भन्नुभयो, यस्तै हो भने अझै समय लाग्छ ।’ अहिले निर्माण कम्पनी रहेकाले भत्केको स्थानमा मर्मत गरिरहेको छ । कम्पनी गएपछि भने यहाँको सडकको दुराबस्था अहले नै आँकलन गर्न सकिन्छ ।

गएको चैतको असपासमा प्रमुख जिल्ला अधिकारी सहितको एउटा टोलीले स्थलगत निरीक्षक गरेर सडक छिटो निर्माण सक्न निर्देशन दिएको थियो ।

शुरुमा स्थानिय प्रशासनले गिटीबालुवा निकासी रोकेकाले पनि सडक निर्माण ढिलाई भएको भन्दै पछि मात्रै निर्देशन दिएर अर्थ नहुने कन्ट्रक्सनको भनाई छ ।

समस्याको चुरो कुरो यस्तो छ

अहिले सडकको तल्लो क्षेत्रको दुईलेनमा कालोपत्र भएको छ । माथिल्लो भागको २ लेन सडकको बेसलाईनको काम सकिएको परियोजना व्यवस्थापक रेग्मी बताउनुहुन्छ ।

तल्लो क्षेत्रमा कमजोरी देखिएपछि माथिल्लो क्षेत्रमा कालोपत्रेको मात्रा बढाईएको छ । मुख्यगरी तल्लो २ लेन सडकमा वेसलाईन १५ सेन्टिमिटर र कालोपत्रे ५ सेन्टिमिटरको हुने सम्झौतामा उल्लेख छ ।

हेभी सवारी आवतजावत गर्ने व्यस्त सडकमा यो कालोपत्रेले धान्दैन भनेर पटकपटक आफुहरुले सडक डिभिजन कार्यालयमा निवेदन दिएको रेग्मी दावी गर्नुहुन्छ ।

सम्झौता अनुसार काम गर्दा अहिले समस्या भएको उहाँको भनाई छ । उहाँका अनुसार कम्तिमा पनि वेसलाई ३० सेन्टीमिटर र कालोपत्रे १० सेनिटमिटर हुनुपर्ने थियो ।

नरायणगढ मुग्लिन सडकको मुल्यंकन गर्ने हो भने सबबेसलाईन २० र बेसलाईन २५ सेमीको छ भने कालोपत्रे १६ सेन्टिमिटरको छ । सोही अनुसार कै रत्ननगरमा पनि राख्नुपर्ने रेग्मी बताउनुहुन्छ ।

ग्लिन सडकमा कालोपत्रे सहित गरेर ६१ सेन्टीमिटरमा काम गरिरहेको उक्त कन्ट्रक्सनले यहाँ भने ध्यान दिन सकेन । जम्मा २०,२५ सेन्टिमिटर कै सम्झौता लिएर उसले निर्माण थालेको देखिन्छ ।

अहिले भने तल्लो क्षेत्रमा विग्रिएकाले माथिल्लो २ लेनमा भने सडक डिभिजन कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झाको सहमतीमा लिखित नै नगरी बेसलाईन र कालोपत्रको भाग दोब्बर बढाएको रेग्मी बताउनुहुन्छ ।

यसअघिका प्रमुखले आफ्नो कुरा नसुनेकाले समस्या आएको उनको दावी छ । सडक डिभिजन कार्यालय चितवनका प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार पुरै खनेर बेसलाईनदेखि नै बाक्लो सामाग्री राखेर निर्माण गर्नुपर्ने आवश्यकता रत्ननगरको थियो । तर त्यो हुन नसकी पुरानो पिचमात्र फालेर केही ग्राभेल मै पिच गरेपछि गाडी थेग्न नसकेर पिच विग्रिएको हो ।

‘आखिर रत्ननगरमा हिंड्ने गाडी सबै मुग्लिन सडक भएर जान्छन्, प्रमुख झाले भन्नुभयो त्यहाँ त्यती बाक्लो पिच हुँदै गर्दा यहाँ किन हुन सकेन, यो सडकको डिजान नै फेल भन्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको