कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखाइएको चुक्ता पुँजी घटाउने प्रक्रिया सुरु गरेको छ । यो प्रक्रिया अन्तर्गत बैंकले २५ जना सेयरशधनीको सेयर नै खारेज गरेको हो ।
त्यस्तै बैंकले ३५ जना व्यक्तिहरूले हकप्रद सेयर खरिदको क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पुष्टि गरेपछि अवैध चुक्ता पूँजी घटाउन लागेको छ । हकप्रद सेयर खरिद गर्दा निक्षेपकर्ताको रकम प्रयोग गरिएकाले चुक्ता रकम भुक्तानी गरेको अवस्था देखिएपछि ती सेयरधनीहरूको सेयर लगत खारेज गर्दै बैंकको चुक्ता पुँजीमै समायोजन गर्न लागेको हो ।
सेयर खारेजको प्रक्रियासँगै सेयरधनीहरूको स्वामित्व संरचना पनि व्यापक रूपमा प्रभावित हुने भएको छ । संस्थापक समूहका सेयर धनीका नाममा रहेको २१ लाख ३६ हजार कित्ता सेयर घटेर २१ हजार ३६० कित्तामा सीमित हुनेछ । त्यस्तै १२ हजार ८८४ कित्ता सेयर भएका साधारण सेयर धनीको सेयर संख्या१२६ कित्तामा मात्र झर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले २०८१ मंसिर १० गतेको निर्णयअनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेर व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह नियुक्त गरेको थियो । त्यसपश्चात् गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कनले संस्थाको चुक्ता पुँजी क्षय भइसकेको र दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखाएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ को उपदफा (१) को खण्ड (च) तथा (ज) र दफा ८६ज बमोजिम ती सेयरधनीहरूको सेयरपुँजी घटाएर १ प्रतिशत मात्र कायम गरिने उल्लेख गर्दै २०८२ मंसि १ गते सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस