अर्थ संसार, जाजरकोट–यहाँको त्रिवेणी नलगाड नगरपालिका–१ की शीतली कामीले राहत नपाएको भन्दै प्रशासनमै उजुरी गरेकी छन् ।
द्वन्द्वमा ज्यान गुमाएका छोरा वीरबहादुर विकका नाममा आएको राहत सौतेनी छोरा लालबहादुरले बुझ्ने गरेको उनको गुनासो छ । वीरबहादुर भेरी नगरपालिका–१ का टिके कामीका छोरा हुन् । टिकेले शीतली र झुमादेवीलाई विवाह गरेका थिए । टिकेको मृत्युपछि शीतलीले दोस्रो विवाह गरेकी हुन् ।
राहत पाउने हक सौतेनी भाइ लालबहादुर नभई आमालाई भएको शीतलीको दाबी छ । यही विषयमा झुमादेवीका छोरा लालबहादुर र शीतलीबीच विवाद बढेको छ । जिल्ला प्रशासन कार्यालयमा राहतको दाबी गर्दै दिनहुँ यस्ता उजुरी पर्ने गरेका छन् ।
त्यस्तै, भेरी नगरपालिका–२ डिङाकी कालिका चन्दले पनि द्वन्द्वपीडित राहतका लागि धेरै प्रयत्न गरिन् तर पाउन सकेकी छैनन् । उनका भाइ सेतीरामको सशस्त्र द्वन्द्वमा ज्यान गएको थियो । सेतीरामकी दिदी कालिकाबाहेक नजिकका हकदार कोही छैनन् ।
तर सेतीरामका नाममा आउने राहत रकम ठूलाबुबा खम्बु चन्दले बुझ्ने गरेका छन् । उक्त राहत आफूले पाउनुपर्ने भन्दै कालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन् । सेतीरामका नाममा आएको रु पाँच लाख राहतका लागि खम्बु र कालिकाबीच विवाद चुलिएको छ ।
मृतकका नाममा आएको रु पाँच लाख राहत आफन्तबीच तानातान हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । नजिकका हकदार कोही नहुनु, आमाबाबुको मृत्यु हुनु, नाबालकको उमेर नपुग्नु, दोस्रो बिहे गर्नुलगायत कारणले आफन्तबीच राहत तानातान हुने गरेको उहाँले बताउनुभयो ।
“कतिपय आमा तथा पत्नीले दोस्रो विवाह गर्दा उनीहरूको नाममा आउने राहतका लागि छोराछोरीले उमेर पुगेपछि विवाद गर्ने गरेका छन् । दोस्रो विवाह गर्ने आमा राहतको हकदार हुन नसक्ने भन्दै विवाद भएको छ,” उहाँले भन्नुभयो ।
काकाबाबा र दोस्रो विवाह गरेकाले पनि राहतमा दाबी गर्दा वास्तविक पीडितले राहत पाउन नसकेको शर्माले बताउनुभयो । राहतका लागि विवादित बनेका हकवालाको बैंक खाता रोक्का गरेको उहाँले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस