Like us!
Follow us!
Connect us!
Watch us!

६ महिनामै ४३ प्रतिशतले बढ्यो बस भाडा, अब स्वचालित रूपमा भाडा समयोजन

पत्रपत्रिका

सोमबार, २१ चैत्र २०७८, ०८ : ०३ मा प्रकाशित

६ महिनामै ४३ प्रतिशतले बढ्यो बस भाडा, अब स्वचालित रूपमा भाडा समयोजन

सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् ।

गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । करिब ६ महिनाको अन्तरालमा पुनः १५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले आइतबारदेखि सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा करिब ६ महिनाको अन्तरालमा दोस्रोपटक बढाएको हो । विभागद्वारा सार्वजनिक गरिएको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

सरकारले पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको छ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

यसअघि, गत २७ असारमा यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

विभागले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।

सो समयमा विभागले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेकोमा पछिल्लोपटक त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह«ासकट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएका जनाएको थियो ।

विभागले लामो दूरीको बस भाडा समयोजन गर्ने क्रममा विगतमा सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको र भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि यथावत् राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको र २०७५ सालमा समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको जनाउँदै विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञानिक भाडादर लागू हुन नसकेको जनाएको थियो ।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । सरकारले अहिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गरिएको जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।

सरकारले अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियमको मूल्यवृद्धि भएको भन्दै पटकपटक वृद्धि गर्दै आएपछि गाडी भाडा वृद्धि गर्नेमा सरकार पुगे पनि यसको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरूलाई यसको मार पर्ने भएको छ ।

अब स्वचालित रूपमा भाडा समयोजन
सरकारले अबदेखि स्वचालित प्रणालीमा भाडा समायोजन गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ भाडादर आइतबारबाटै लागू हुने र अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने बताए ।

विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाइएको जनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहने बताइएको छ ।

राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको