Like us!
Follow us!
Connect us!
Watch us!

बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १४ : ०७ मा प्रकाशित

बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । 

गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो । 

गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरुका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरुको नाम छनौट गरेको छ । 

२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउने छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिने गुठीले जनाएको छ । 

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम चयन भएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनेछिन् । 

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत हुने गुठीले जनाएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउने गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए । 

उनका अनुसार पुरस्कारहरुको वितरण २०७९ असार २६ गतेका दिन विशेष समारोहबीच गरिनेछ । सो दिन गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति पनि हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको