अर्थ संसार, काठमाडौं – काठमाडौं उपत्यकाको सडक व्यवस्थित बनाउन कानुनी, नीतिगत र संरचनागत व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
लेखा समितिको आइतबार बसेको बैठकले अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर उपत्यकाको सडक आयोजना निर्माणको काम सञ्चालन गर्न पनि सरकारलाई सचेत गराएको छ ।
सडक, ढल, खानेपानी, विद्युतलगायत संरचना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र संरचनागत व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए ।
समितिले काठमाडौं उपत्यकाको सडक निर्माणको कामलाई सहज बनाउनका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहमा निर्माण हुने सडकको मापदण्ड बनाउन पनि सरकारलाई निर्देश गरेको छ ।
समितिले सडक आयोजना समयमै सम्पन्न हुनेगरी कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको छ । आयोजना समयमै सम्पन्न भएनभएको अनुगमन गरी १५–१५ दिनमा त्यसको प्रगतिविवरण समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ ।
उपत्यकाको सडक आयोजनाको काम समयमै सम्पन्न गर्न कार्ययोजनानै बनाएर अघि बढन सरकारलाई सचेत गराइएको समितिका सभापति उपाध्यायले बताए ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि जनशक्ति अभाव भएको स्पष्ट पारे ।
सडकको कामलाई तीव्र गतिमा अघि बढाउन अतिरिक्त जनशक्ति आवश्यक देखिएको स्पष्टिकरण उनले दिए । सचिव घिमिरेले सरकारी निकायबीच समन्वयको अभावमा पनि कामले गति लिन नसकेको अनभूति भएपछि आधारातमा समेत आफू अनुगमनको कामको निस्कनु परेको पनि समितिलाई जानकारी गराए ।
बैठकमा समितिका सदस्यहरुले सरकारले बेवास्ता गरेकै कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्दै गएको आरोप लगाएका थिए
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस