Like us!
Follow us!
Connect us!
Watch us!

कैदी नम्बर २४१३८३ बने नवजोत सिद्धु

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १३ : ०२ मा प्रकाशित

कैदी नम्बर २४१३८३ बने नवजोत सिद्धु

पूर्व क्रिकेट खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल गएका छन् । उनी कैदी नम्बर २४१३८३ बनेका छन् । जेलभित्र पसेपछि उनलाई यो कैदी नम्बर दिइएको हो । सिद्धुले पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए ।

सुरुमा उनलाई पुस्तकालय परिसरमा राखिएको थियो । तर, पछि कैदी नम्बर तोकेर ब्यारेक नम्बर १० मा राखिएको छ । त्यहाँ उनी सिमेन्टले बनेको पलङमा सुत्नुपर्नेछ । सिद्धुले जेलभित्र सेतो कपडा लगाउनुपर्नेछ । उनको जेलमा एउटा कुर्सी टेबल, एउटा दराज, एउटा ओछ्यान, एउटा बेडकभर, दुई वटा सिरानी, एउटा कम्बल, तीन वटा भित्री वस्त्र, २ वटा तौलिया, एउटा झुल, एउटा डटपेन, एक जोर जुत्ता र ४ वटा कुर्ता पाइजामा दिइनेछ ।

जेलमा सिद्धुको दिन बिहान ५ः३० बाट सुरु हुनेछ । बिहान ७ बजे चियासँगै बिस्कुट वा कालो चना खानेछन् । त्यसपछि बिहान ८ः३० मा नास्ता गर्नेछन् । नास्तामा दाल र रोटी वा तरकारी दिन्छ । त्यसपछि उनीहरुलाई कारखानामा काम गर्न लगिनेछ । त्यहाँ दिनभर काम गर्नुपर्नेछ । साँझ ५ः३० मा उनको बिदा हुनेछ । उनीहरुले साँझ ६ बजे खाना खानेछन् । उनीहरुलाई साँझ ७ बजे ब्यारेकमा थुनिनेछ ।

विगतमा चर्चित भारतिय टिभी शो “कपिल शर्मा शो” को समेत हिस्सा रहेका सिद्धुलाई ३४ वर्ष पुरानो एक घटनाले जेल पुर्याएको हो । घटना २७ डिसेम्बर १९८८ को हो । त्यसदिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा भएको थियो, गुरनाम सिंहसँग । पछि गुरनाम सिंह अस्पताल भर्ना भए । उपचारकै क्रममा ६५ बर्षिय गुरनाम सिंहको मृत्यु भयो ।

त्यसबेला जिल्ला अदालतले उनलाई गैर नियतवश भएको हत्या भन्दै निर्दोष ठहर गरेको थियो । तर, उच्च न्यायालयले उनलाई दोषी ठहर्याएर तीन वर्षको जेल सजाय सुनायो ।सर्वोच्वले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यस विरुद्ध फेरी अपील दायर गरे । अन्ततः सिद्धुलाई दोषी ठहर्याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको