आइतबार पनि सेयर बजारकाे ओरालो यात्रामा नै निरन्तरता छ । पूँजी बजार सुधारका लागि लगानीकर्ताहरूले निरन्तर आमरण अनसनसहितकाे आन्दाेलन गरिरहेका छन् । अझै पनि सरकारले आन्दाेलनप्रति चासाे देखाएकाे पाइएकाे छैन । नियामक निकायहरूले पनि बेवास्ता गरिरहेका छन् । यसाे हुँदा लगानीकर्ताहरूकाे मनाेबल झनै घट्दै गइरहेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेकाे छ । नेप्से १.८९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.२९ अंकले घटेर ३७३.८५ विन्दुमा झरेकाे छ ।
कूल २२३ वटा कम्पनीकाे ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।
आइतबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १० कराेड २९ लाख ८९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय ५६ रूपैयाँ ३० पैसा पुगेकाे छ ।
यस दिन रिभर फल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.५६ प्रतिशतले घटेर २ सय ४६ रूपैयाँ ९० पैसामा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस