Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक पत्रकार न्यौपानेको निधनमा पत्रकार महासंघ र सेजन दुखी

सोमबार, २२ कार्तिक २०७३, १३ : २४ मा प्रकाशित

आर्थिक पत्रकार न्यौपानेको निधनमा पत्रकार महासंघ र सेजन दुखी

अर्थ संसार
काठमाडौं–आर्थिक पत्रकार सञ्जय न्यौपानेको अल्पायुमै निधन भएकामा नेपाल पत्रकार महासंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले दुख ब्यक्त गरेका छन् । दुवै संस्थाले न्यौपानेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन् । पत्रकार न्यौपानेको ४५ वर्षको अल्पायुमै शनिबार निधन भएको थियो ।

नेपाल पत्रकार महासंघले आफ्ना सभासद् तथा उर्जावान युवा पत्रकार न्यौपानेको असामयिक निधनबाट नेपाली पत्रकारिता जगत स्तब्ध भएको विज्ञप्तिमार्फत जनाएको छ । ‘नेपाली पत्रकारिता क्षेत्रमा आर्थिक विट्लाई सफलताका साथ नेतृत्व गरिरहेका न्यौपानेको अल्पायुको निधनले पत्रकारिता क्षेत्रले अपुरणीय क्षति बेहोर्नु परेको छ’ महासंघका महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 न्यौपाने एक वर्षदेखि ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायु प्रणाली सम्बन्धी समस्याबाट ग्रस्त थिए ।  भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आइरहेकोमा केही दिनअघि न्यौपानेको स्वास्थ्यमा पुनः समस्या बल्झेको थियो । उपचारकै क्रममा उनको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।  कान्तिपुर दैनिकमा आर्थिक विट्मा डेढ दशक रिपोर्टिङ्ग गरेका न्यौपाने पछिल्लो समयसम्म आर्थिक सम्बन्धी राष्ट्रिय पत्रिका ‘कारोबार दैनिक’ मा सम्पादकको जिम्मेवारीमा थिए ।

उनले अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयबाट पत्रकारिता सम्बन्धिअध्ययन (हम्फ्रे फेलो) गरेका थिए । ललितपुर बडिखेलका स्थायीबासिन्दा न्यौपाने सकारात्मक सोच भएका, मृदुभाषी र सहयोगीका रुपमा सहकर्मीमाझ लोकप्रिय थिए । यसैगरी सेजनले आफ्ना पूर्वउपाध्यक्ष न्यौपानेको निधनले स्तब्ध र मर्माहत बनाएको बताएको छ । ‘उनको निधनले नेपालको आर्थिक पत्रकारिताका क्षेत्रमा अपुरणीय क्षति पुगेको छ,’ सेजनले विज्ञप्ति जारी गर्दै भनेको छ । सेजन परिवारले न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको