अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न आवश्यक कानुनी व्यवस्था तयार गर्न कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख महेश बराल रहेका छन्।
कार्यदलमा सदस्यका रूपमा बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव र पूर्व सहसचिव समेत रहेका विषय विज्ञ निर्मलहरी अधिकारी समावेश छन्। सदस्य सचिवको भूमिका वित्तीय संघीयता महाशाखाका उपसचिवले निर्वाह गर्ने छन्।
चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ र ३७१ मा उल्लेखित व्यवस्था कार्यान्वयनका लागि यो कार्यदल गठन गरिएको हो। ती बुँदामा विनियोजनको कुशलता कायम गर्दै सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्ने, संघीय सञ्चित कोषको सन्तुलन, सार्वजनिक ऋणको उत्पादनशील उपयोग र वित्तीय अनुशासन कायम गर्न कानुनी आधार निर्माण गर्ने विषय उल्लेख छन्।
संविधानको धारा ५९ ले संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन र घाटा व्यवस्थापन सम्बन्धी कानुनी संरचना संघीय कानुन बमोजिम हुनुपर्ने व्यवस्था गरेको सन्दर्भमा, उक्त कानुन निर्माणका लागि अर्थ मन्त्रालयले यो पहल थालेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस