Like us!
Follow us!
Connect us!
Watch us!

भिजिट भिसा प्रकरण : अध्यागमन प्रमुख मन्त्रालय तानिए

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, ०६ : ४५ मा प्रकाशित

भिजिट भिसा प्रकरण : अध्यागमन प्रमुख मन्त्रालय तानिए

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। 

तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताउनुभयो। पोखरेलले नक्कली 

कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने गरेकोबारे आन्तरिक छानबिन भइरहेको बताउनुभयो।

भिजिट भिसामा खाडी मुलुक जाने यात्रुको कागजपत्र नक्कली रहेको पाइएपछि प्रहरीले झन्डै तीन सय युवालाई विमानस्थलबाट फिर्ता गरेको थियो। उक्त घटनामा अध्यागमन विभागका कर्मचारीको मिलेमतोको आशङ्का गरिएको छ।

उक्त घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा मानव बेचबिखन ब्युरोले छुटछुट्टै अनुसन्धान गरिरहेका छन्। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा मानव तस्करीमा सङ्गठित गिरोह नै सक्रिय रहेको पाइएको छ।

उक्त गिरोहले अध्यागमन तथा विमान कम्पनीका कर्मचारीलाई आर्थिक प्रभावमा पारी रात्रिकालीन उडानबाट खाडी मुलुकमा मानव तस्करी गर्ने गरेको पाइएको छ। भिजिट भिसाको आवरणमा पछिल्लो पाँच महिनामा खाडी मुलुक पुगेका ५३ हजार नेपाली फिर्ता नभएकोबारे गोरखापत्र दैनिकले समाचार प्रकाशित 

गरेको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव तस्करी मुलुकका लागि कलङ्क भएकाले संलग्नलाई कानुनी दायरामा ल्याउन कानुन कार्यान्वयन निकायलाई निर्देशन दिनुभएको छ। 

प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मानव तस्करीका घटना भयावह रूपमा वृद्धि भएकाले नियन्त्रणका लागि निर्देशन दिएको थियो। 

वैदेशिक रोजगारीको प्रलोभनमा पारी भिजिट भिसामार्फत खाडी पु-याइएका अधिकांश युवती कुवेत, साउदी अरब, इरान, इराकमा पु-याएर बेचबिखन हुने गरेको छ। 

मानव तस्करीमा संलग्नको मिलेमतोमा नक्कली कागजपत्रमार्फत भिजिट भिसाको दुरुपयोग भएपछि नियन्त्रणका लागि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीले नियमित चेकजाँच गरिरहेको छ।

गृह मन्त्रालयले विमानस्थलको अध्यागमन प्रमुख परिवर्तन भएकाले अबदेखि आवतजावतमा कडाइ गर्ने जनाएको छ। सुरक्षा स्रोतका अनुसार भिजिट भिसामा जाने यात्रुलाई जाँच गरिरहेका प्रहरीलाई आफ्नो नियमित काममा फर्किन मन्त्रालयले निर्देशन दिएको छ। 

यो समाचार आज गोरखापत्रले लेखेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको