Like us!
Follow us!
Connect us!
Watch us!

‘गठबन्धनको कुनै भविष्य छैन, केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्’

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १९ : १७ मा प्रकाशित

‘गठबन्धनको कुनै भविष्य छैन, केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्’

 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
 

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताउनुभयो । उनले भने ‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे । ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन् । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ ।’– उनले भने । उनले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताए ।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले भने– स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए । तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए । उनले एकलाख भन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताए । ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन् । त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ’– पोखरेलले भने ।  

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले उमेरले युवा र बुढो नहुने बताए । ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन् । केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन् । केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको