अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा ४५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । चार जना मन्त्री, नौ जना सांसद तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी संलग्न टोलीसहित प्रधानमन्त्री पाँचदिने औपचारिक भ्रमणका लागि भारतको भ्रमणमा जान लाग्नुभएको हो ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नुभएका प्रम देउवासँग उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जीतेन्द्र देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा जानुहुनेछ ।
भ्रमण दलमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरमलगायत पार्टीबाट नौ जना सांसदहरू सहभागी हुनुहुनेछ ।भ्रमण टोलीमा प्रधानमन्त्री देउवाकी धर्मपत्नी आरजु देउवा पनि हुनुहुन्छ । त्यसैगरी परराष्ट्र मन्त्रालयबाट सचिवसहित नौ जना तथा अन्य मन्त्रालयबाट समेच उच्च अधिकारी सहभागी हुनुहुनेछ ।
टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराई, प्रेस संयोजक गोविन्द परियार तथा सचिवालयका सदस्य पनि हुनुहुनेछ ।
नेपाल एयरलाइन्सबाट बुधबार बिहान दिल्ली प्रस्थान गर्नुहुने प्रधानमन्त्री देउवाले बिहीबार उच्चस्तरीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति रामनाथ कोविद तथा समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरको कार्यक्रमा सहभागी हुने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री देउवाले प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुने तथा एभरेस्ट चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग दोस्रो दिन भारतकी विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री गार्ड अफ अनर दिने कार्यक्रममा सहभागी हुने र महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि दिन राजघाट जाने कार्यक्रम छ ।
तेस्रो दिन विभिन्न राजनीतिक पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमअनुसार भारतीय जनता पार्टी (बीजेपी) का महासचिव राम माधवले नेतृत्व गरेको संस्था इन्डिया फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनुहुनेछ ।
कार्यक्रम सकेर दिउँसो भारतीय वायु सेनाको विशेष विमानबाट प्रधानमन्त्री आन्ध्र प्रदेशको हैदरावाद जाने कार्यक्रम छ । चौथो दिन प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित आन्ध्र प्रदेशमा रहेको तिरूपति मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।
भ्रमणको पाँचौ दिन ११ गते प्रधानमन्त्री देउवा दिल्ली हुँदै नेपाल एयरलायन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । देउवा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जानुभएको भने चौथो पटक हो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस